आफ्नै साथीको ५० लाख लुट्ने पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं।

आफ्नै साथीको ५० लाख लुट्ने ६ जनालाई उपत्यकाका विभिन्न स्थानबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दाङ पुरन्धारा गाउँपालिका–९ खेप्ताङ घर भई काठमाडौं मित्रनगर बस्ने वेदबहादुर भन्ने भीमबहादुर घर्ती मगर, नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ कटजुन घर भई काठमाडौं काभ्रेस्थली बस्ने नकुर तामाङ, रसुवा आमाछोदिङमो गाउँपालिका–५ गोलजुङ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–९ डाँडागाउँ बस्ने दावा छिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका–९ पुरानागाउँ घर भई काठमाडौं महानगरपालिका–१६ बाईपास बस्ने कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका–२ खड्कु घर भएकाहरू काठमाडौं काभ्रेस्थली बस्ने तेन्जिङबहादुर तामाङ र काठमाडौं गोंगबु बस्ने सञ्जित वाइबा रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले नगद १८ लाख ७५ हजार ५ सय रुपियाँ, डाँका गरी पाएको पैसाबाट किनेको मोटरसाइकल १ थान, डाँका घटनामा प्रयोग भएको मोटरसाइकल ३ थान, सुनको औंठी १ थान र विभिन्न कम्पनीको मोबाइललगायतको सामान बरामद गरेको छ।

उनीहरूमध्ये वेदबहादुर भन्ने भीमबद्महादुर घर्ती मगरले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौं बस्ने व्यक्तिलाई मेरो बाजेसँग बल्ने ढुंगा छ भन्दै विभिन्न प्रलोभन देखाई नगद ५० ५० लाख रुपियाँ माग गरेका थिए।

त्यसपछि उनीहरूले पीडितलाई खुकुरी र फलामको लठ्ठीसमेत देखाई धाकधम्की दिई आँखामा खुर्सानीको धुलो छर्की पीडितको साथमा रहेको नगद ५० लाख जबरजस्ती लुटपाट गरेर फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ।

प्रतिक्रिया दिनुहोस्