खेलाडी संघको अवार्ड फागुनमा



नेपाल समाचारपत्र, काठमाडौं । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले एनएनआईपीए स्पोर्ट्स अवार्ड २०७५ फागुन ६ गते बसन्तपुर डबली, काठमाडौंमा आयोजना गर्ने भएको छ।

एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले आइतबार पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार १४औं संस्करणको अवार्डमा विभिन्न २८ खेलका पुरुष/महिला खेलाडीलाई पुरस्कार वितरण गरिनेछ।

गत इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदको प्रदर्शनलाई आधार मानी चयन गरिएका खेलमा फुटबल, पौडी, भलिबल, टेबलटेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोर्ट्स, स्क्वास, सेपाकताक्रो, कुस्ती, स्पोर्ट्स क्लाइम्बिङ, बास्केटबल, लनटेनिस, ब्याडमिन्टन, ट्रायथलन, पेन्केक सिलात, कराते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथलेटिक्स र गल्फ रहेका छन्। विजेतालाई जनही १० हजारसहित ट्रफी प्रदान गरिने छ।

नगद पुरस्कारमा खेलाडी संघले ५ हजार र सम्बन्धित खेल संघले ५ हजार उपलब्ध गराउनेछन्।
२८ खेलका विजेता मध्येबाट १–१ सर्वोत्कृष्ट पुरुष/महिला खेलाडीको छनोट गरी जनही १ लाख रुपियाँबाट पुरस्कृत गरिने छ। यसका लागि गत वर्ष जनता बैंकसंग सम्झौता भएको थियो।|

जनता बैंक अहिले ग्लोबल आईएमइमा ‘मर्ज’ भएको छ। त्यस्तै पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित गजराज जोशी आदर्श खेलाडी सम्मानबाट १ खेलाडीलाई पुरस्कृत गरिने छ। यो अवार्डको विजेताले ३५ हजार नगद प्राप्त गर्नेछन्।

विगतामा यो अवार्डको राशी २५ हजार रुपियाँ थियो। एनएनआईपीए खेलकुद पत्रकारिता अवार्डबाट १ खेल पत्रकारलाई २५ हजार नगदबाट पुरस्कृत गरिनेछ। नयाँ विधाका रुपमा पारा खेलकुदतर्फ २०७५ सालमा उत्कृष्ट प्रदर्शन गर्ने एक पारा खेलाडीलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्