मेलबर्नमा गौफको यात्रा समाप्त



मेलबर्न, एजेन्सी। 

उदीयमान युवा खेलाडी कोको गौफको यात्रा मेलबर्नमा जारी अस्टे«लियन ओपन टेनिस प्रतियोगिताको चौथो चरणमा समाप्त भएको छ।

१५ वर्षीया अमेरिकी खेलाडी आफ्नै राष्ट्रकी सोफिया केनीनसँग तीन सेटमा पराजित भएकी हुन्। पहिलो सेट ७–६ ले जितेर सानदार शुरुआत गरेकी कोकोलाई त्यसपछिका सेटमा सोफियाले चल्न दिएनन्।

सोफियाले पछिका सेट ६–३, ६–० ले जितेर कोकोलाई निरास तुल्याएकी हुन्। कोकोले हार्नुमा अत्यधिक गल्तीको पनि भूमिका रहेको थियो। निर्णायक सेटमा आएर निकै थकित भएकी उनले खेलभरि ४८ अनावश्यक गल्ती र ७ डबल फल्ट पनि गरेकी थिइन्।

उनी ग्रान्डस्लाम क्वार्टरफाइनलमा पुग्ने सबैभन्दा युवा खेलाडी बन्ने अभियानमा थिइन्, तर उनको धोको पुरा हुन सकेन। कोकोले अघिल्ला खेलमा भेनस विलियम्स र गत संस्करणकी विजेता नाओमी ओसाकालाई हराएर सनसनी मच्चाएकी थिइन्। तर २१ वर्षीया सोफियासँग उनी कतै पनि टिक्न सकिनन्। सोफियालाई भने जितले पहिलो पटक ग्रान्डस्लामको अन्तिम आठमा पु¥याएको छ।

उनले गत फ्रेन्च ओपनमा सेरेना विलियम्सलाई हराएकी थिइन्। महिला सिंगल्सतर्फका विश्व नम्बर एक एश्लीग बार्टी सम्भावित हारबाट जोगिँदै अन्तिम आठमा पुगिन्।

अमेरिकी खेलाडी एलीसन रिस्कले दोस्रो सेट जितेर घरेलु खेलाडी बार्टीलाई कडा टक्कर दिएकी हुन्। तर घरेलु दर्शकको साथ पाएकी बार्टीले खेल ६–३, १–६, ६–४ ले जित्न सफल भइन्। उनको अर्को चरणमा सातौं वरियताकी पेट्रा किटोभासँग हुनेछ।

गत संस्करणमा अन्तिम आठमै बार्टीलाई हराएकी चेक खेलाडी किटोभाले ग्रीसकी मारिया साक्कारीलाई हराइन्। उनले पहिलो सेट ६–७ मा हारेपछि दोस्रो र तेस्रो सेट जितेर सम्भावित हार टारेकी हुन्।

फेडेरेर अन्तिम आठमा

६ पटकको अस्टे«लियन ओपन विजेता रोजर फेडेरेर मार्टन फुकसोभिच्समाथि जित हात पार्दै अन्तिम आठमा प्रवेश गरेका छन्। ३८ वर्षीय पाको खेलाडी फेडेरेरले हंगेरियन प्रतिद्वन्द्वीलाई ४–६, ६–१, ६–२, ६–२ ले हराएका थिए।

स्विस खेलाडीले अर्को चरणमा अमेरिकाका टेनिस सान्डग्रेनसँग खेल्नेछन्। त्यस्तै गत संस्करणका विजेता नोभाक जोकोभिच पनि अन्तिम आठमा पुगेका छन्।

११औं पटक अस्टे«लियन ओपनको क्वार्टरफाइनलमा यात्रा गरेका सर्बियाका खेलाडीले अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई सीधा तीन सेटमा हराएका हुन्। जोकोभिचले मेलबर्न पार्कमा सात पटक उपाधि जितेका छन्।

प्रतिक्रिया दिनुहोस्