माथिल्लो तामाकोसीले असारभित्र बिजुली बाल्ने



चिरञ्जीवी मास्के, दोलखा।

हेडवक्र्सको काम ९९ दशमलब ८ प्रतिशत सम्पन्न भई आगामी फागुन महिना ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले असारभित्र विद्युत् उत्पादन गर्ने तयारी गरेको छ। झण्डै ९८ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको असारभित्र एउटा टर्वाइनबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताउनुभयो।

आयोजनामा ७६ मेगावाट क्षमताका ६ वटा टर्वाइनमध्ये एउटाबाट विद्युत् उत्पादन गर्न लागिएको प्रवक्ता डा. न्यौपानेको भनाइ छ। आयोजनाको लट–१ को सिभिल कार्यअन्तर्गत बाँध, इन्टेक, डिस्यान्डर, सुरुङ, सर्ज ट्यांक, पेनस्टक, भूमिगत विद्युत् गृहलगायतका निर्माण कार्यको लागि चिनियाँ ठेकेदार कम्पनी सिनोहाइड्रो कर्पोरेसनसँग खरिद सम्झौता गरिएको छ।

हेडवक्र्सको काम ९९ दशमलब ८ प्रतिशत सम्पन्न भई आगामी फागुन महिनासम्ममा परीक्षण गर्ने तयारी रहेको प्रवक्ता डा. न्यौपानेको भनाइ छ। लट–२ को हाइड्रो मेकानिकलअन्र्तगत बाँधमा गेट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।

लट–२ को ठेकेदारले ३७३ मिटरको तल्लो प्रेसर स्याफ्टमा पेनस्टक पाइप जडान गर्न सक्ने कार्य सम्पादन गर्ने क्षमता नपाइएको हुनाले सो कार्य एन्ड्रिज हाइड्रोमार्फत गराउन आवश्यक सम्झौता गराई कार्य अगाडि बढाइएकोमा शनिबारसम्म २ सय मिटर पेनस्टक पाइप राख्ने कार्य सम्पन्न भइसकेको र ३१० मिटरको माथिल्लो पेनस्टक साफ्टमा लट– २ का ठेकेदारबाट १ सय मिटर पाइप जडानको कार्य सम्पन्न गरिएको जनाइएको छ।

त्यसैगरी लट–३ को इलेक्ट्रोमेकानिकलअन्तर्गत अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रो जीएमबीएचसँग आयोजनाका मुख्य मेसिन र उपकरण टर्वाइन, जेनेरेटर, ट्रान्सफर्मर, स्वीच गियर, भल्व, गभर्नर र सोसँग सम्बन्धित उपकरणको डिजाइन, जडान, परीक्षण र कमिसनिङ गर्न खरिद सम्झौता गरिएको र ती सामान साइटसम्म ढुवानी गरी १ देखि ६ नम्बर युनिटसम्मको जडान कार्य सम्पन्न गरी ड्राई कमिसनिङ कार्य समेत सम्पन्न भएकोे आयोजनाले जनाएको छ।

लट–४ को प्रसारण लाइन तथा सब–स्टेसनअन्तर्गत भारतीय कम्पनी केईसी इन्टरनेसनलसंँग विद्युत् गृहस्थल गोंगरदेखि खिम्ती सब–स्टेशनसम्म २२० केभंी क्षमताको ४७ किलोमिटर लामो प्रसारण लाइन र खिम्तीमा सब–स्टेशन कार्यको डिजाइन, निर्माण, परीक्षण र कमिसनिङ गर्न खरिद सम्झौता गरिएको, गोंगरदेखि खिम्तीसम्म निर्माण हुने १२७ वटा टावरमध्ये हालसम्म सबै १२७ वटै टावरको जग निर्माण कार्य तथा टावरको जडान कार्य सम्पन्न भइसकेकोे, ४७ किलोमिटर लामो प्रसारण लाइनमा तार तान्ने कार्यसमेत सबै सम्पन्न भएको आयोजनाका प्रवक्ता डा. न्यौपानेले बताउनुभयो।

२०६७ भाद्र १७ गतेबाट मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको यस आयोजनामा भूकम्प र त्यसपछिको तराई आन्दोलन तथा लामोसाँघु चरिकोट सडकको स्तरोन्नतीको कारणले गर्दा आयोजनाको निर्माण कार्यमा बाधा पुग्न गएकाले यस आयोजनाको निर्माण सम्पन्न हुने अवधिमा बिलम्व हुन गएको आयोजना प्रमुख दिनेशजंग राणाले बताउनुभयो।

पछिल्लो कार्य प्रगतिको आधारमा यस आयोजनाबाट २०७७ असार मसान्तसम्म परीक्षण उत्पादन शुरु गरिने र कुनै समस्या नभए त्यसले निरन्तरता पाउने आयोजना प्रमुख राणाको भनाइ छ।

दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निमार्णाधीन ४५६ मेगावाटको यो आयोजनाको लागि ब्याजबाहेक ४९ अर्ब २९ करोड लागत प्रक्षेपित गरिएको जनाइएको छ। ३६ अर्बमा निर्माण सम्पन्न हुने भनिए पनि विभिन्न कारणले आयोजनाको लागत बढेको तर अहिले पनि यो आयोजना नेपालको सबैभन्दा सस्तो आयोजना नै भएको आयोजना प्रमुख राणाले बताउनुभयो।

राष्ट्रिय गौरवको आयोजना भएकाले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दैनिक काम सीसी टिभीमार्फत प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष निगरानी भइरहेको र त्यसले काममा उत्साहका साथ आवश्यक सहयोग समेत पुगेको आयोजना प्रमुख राणाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्