कता जाँदै छ नेपाली समाज ? 



जनार्जन पौडेल

नेपाली समाजमा नजिकैको आफन्त, नातेदार एवं इष्टमित्रलाई ‘जिउँदाको जन्ती मर्दाको मलामी’ भन्ने चलन छ। हामीबीच आपसमा जतिसुकै मनमुटाव र झैझगडा भए पनि जन्ती जान र मलामी जान भने पछि पर्दैनौं। यो नै नेपाली समाजको विशेषता हो, सकारात्मक पाटो पनि हो।

मलामी जानेले दाहसंस्कार सम्पन्न नगरी बीचबाटै हाजिर लगाएर टाप कस्नु र जन्ती जानेले दुलही नभित्र्याई टन्न मासु–पुलाउ खाएर टाप कस्ने चलनले आखिर नेपाली समाज कता जाँदै छ भनेर केही अनुमान गर्न सकिरहेको छैन। आखिर कता जाँदै छ नेपाली समाज ?
नेपाली समाजमा यी र यस्ता थुप्रै संस्कार छन्, जसले विभिन्न जातजाति र समुदायलाई एकताको सूत्रमा बाँध्दै आएको छ। यसका साथै नेपालीमा अर्को उखान पनि छ, ‘सुखमा अघि लाग्नु, दुःखमा पछाडि लाग्नु’ अर्थात् जन्ती जाँदा जहिले पनि दुलाहालाई पछाडि राखेर आफू अघि लाग्नुपर्छ र मलामी जाँदा शवलाई अघि लगाएर आफू पछाडि लाग्नुपर्छ भन्ने नेपाली समाजको मान्यता रहेको छ।

धर्मशास्त्रले पनि यसरी नै निर्दिष्ट गरेको छ। तर हिजोआज नेपाली समाजमा यी सबै मूल्य, मान्यता र संस्कार धर्मशास्त्रका पुस्तकका पानामा मात्र सीमित भएका छन्। अझ भनौं, धेरैले त यसलाई पुरानो उखानको रूपमा मात्र लिन थालेका छन्।

यसलाई मान्यो भने पुरातन भइन्छ भन्नेहरूसमेत भेटिन्छन्। यो सबै आधुनिकीकरण र पाश्चात्य संस्कृतिको प्रभावका कारण भएको हो। जसका कारण नेपाली समाजबाट यस्ता पुराना मूल्य, मान्यता र संस्कारहरू दिनहुँ हराउँदै गएका छन्।

मलामी जाँदा शव अगाडि लगाएर पछि–पछि जानुपर्नेमा सीधै घाटमा जाने चलनको शुरूवात भएको छ। विशेष गरी शहरी क्षेत्रमा यो लागू नै भइसकेको छ। धर्मशास्त्रले सीधै घाटमा पुग्नुहुँदैन, शवलाई अगाडि लगाएर मात्र जानुपर्छ, साथै शवको दाहसंस्कार सम्पन्न नगरी मलामी फर्कनुहुन्न भन्दाभन्दै पनि हिजोआज यो नियम उल्लंघन भइरहेको छ।

आजका मानिस यति धेरै व्यस्त देखिन्छन् कि सीधै घाटमा गयो अनि उपस्थिति पुस्तिकामा हाजिरी जनायो, टाप कस्यो। यसले एकातिर संस्कृति, मूल्य, मान्यतामा ह्रास आएको छ भने अर्कोतिर नेपाली समाजमा मानवीय संवेदना घट्दै गएको छ।

मलामी जानेले दाहसंस्कारपश्चात् मृत व्यक्तिको नाममा अञ्जुली जल दिएर स्नान गरी फर्केमा उक्त मृतात्मा सजिलै तर्दछ भन्ने धर्मशास्त्रको मान्यता रहेको छ तर हिजोआजका मलामी त जलको अञ्जुली दिने त कुरै छोडौं, घाटमै धूमपान र मद्यपान गर्नसमेत पछि पर्दैनन्। केहिले शवदाह गर्दै गर्दा बीचमै नजिकैको होटलमा चिया नास्ता गर्ने गरेको पनि पाइन्छ तर वास्तवमा यी सब धर्मशास्त्रले वर्जित गरेका कार्य हुन्।

यसै गरी जन्ती जाने प्रसंग पनि थोरै कोट्याऊँ। वास्तवमा जन्ती जानेले दुलही नभित्र्याईकन अन्यत्र लाग्नुहुँदैन। एकैछिन् धर्मशास्त्रका कुरा छोडेर नैतिकरूपमा हेर्ने हो भने पनि विवाह सम्पन्न गराएर दुलाहा–दुलहीलाई सकुशल घरमा भित्र्याउनु जन्तीको जिम्मेवारी हो।

तर कता गयो त्यो नैतिकता, कता गयो जिम्मेवारी ? दुलही नभित्र्याई मासु–पुलाउ खाएर बीचैबाट भाग्नेको जमात बढिरहेको छ। यसै सन्दर्भमा म तमाम भगोडा जन्तीलाई प्रश्न गर्न चाहन्छु, के जन्ती जाने भनेको मासु–पुलाउ खानका निम्ति मात्र हो त ?

मलामीको कुरा गर्दा भगोडा मलामीलाई प्रश्न गर्न चाहन्छु, आखिर हामी किन यति धेरै व्यस्तता देखाइरहेका छौं ? तपाईंले आफ्नो बाटो किन बिर्सनुहुँदै छ ? मृत्यु अवश्यम्भावी छ, यो संसारमा जन्मेपछि सबैले एकदिन मर्नै पर्छ र सबैले अन्त्यमा जाने त्यहीँ हो भन्ने ज्ञात हुँदाहुँदै पनि यस्तो लापरबाही किन ?

कृपया कमसे कम दाहसंस्कार गरुन्जेल घाटमा अडिनुस्, मरेर लाने केही छैन। आखिर हामी सबै खालि हात नै आउने हो र खालि हात नै जाने हो भन्ने कुरा कसैले पनि भुल्नुहुँदैन।

मलामी जानेले दाहसंस्कार सम्पन्न नगरी बीचबाटै हाजिर लगाएर टाप कस्नु र जन्ती जानेले दुलही नभित्र्याई टन्न मासु–पुलाउ खाएर टाप कस्ने चलनले आखिर नेपाली समाज कता जाँदै छ भनेर केही अनुमान गर्न सकिरहेको छैन। आखिर कता जाँदै छ नेपाली समाज ? जन्म, मृत्यु र विवाह हाम्रा संस्कार हुन्, मूल्य–मान्यता हुन्। तसर्थ यी मूल्य र मान्यतामा खेलाची नगरौं।

हाम्रो चलिआएको संस्कारलाई लथालिंग नबनाऔं। जति नै महत्वपूर्ण र जरुरी काम भए पनि गाउँ, टोल, छिमेकमा यदि कसैको मृत्यु भएको थाहा भयो भने सबै काम छाडेर अन्तिम संस्कारमा सहभागी बनौं। आधुनिक बन्ने होडबाजीमा हामी हाम्रा पितापुर्खाले बनाएका नीति नियमलाई क्रमशः उल्लंघन गर्दै आएका छौं।

यो पनि एउटा सामाजिक विकृतिकै नमुना भएकाले हामीले बेलैमा सोच्नुपर्ने भएको छ। पहिले–पहिले केही नजान्ने मान्छेलाई कुन जन्ती ल्याएको, कुन मुर्दा ल्याएको केही थाहा हुन्न भन्ने चलन थियो। तर दुर्भाग्य ! आज हामी सबै दिनदिनै मूर्ख बन्दै गइरहेका छौं, सबै बुझेर पनि बुझ पचाइरहेका छौं। तसर्थ अब बुझेर पनि बुझ पचाउने बानीको अन्त्य गरौं।

प्रतिक्रिया दिनुहोस्