छात्रामा महिनावारीको सकस र समाधान  



नगेन्द्रराज पौडेल 

हालै गरिएको एउटा पछिल्लो अध्ययनले विद्यालयीय शिक्षामा कक्षा छाड्ने दर छात्राको बढी भएको देखाएको छ। यसै पनि कक्षा १ मा भर्ना भएकाहरूमध्ये कक्षा १० को परीक्षामा ६६ प्रतिशत विद्यार्थी सम्मिलित नभएको पाइएको छ।

यसरी परीक्षामा सम्मिलित नहुनु भनेको कक्षा छाडनु नै हो। यसरी कक्षा छाड्नेको संख्या पनि छात्राकै बढी देखिएको छ। आखिर किन छाड्छन् त छात्राले कक्षा ? यसका विभिन्न कारण हुन सक्लान् र ती कारणमध्ये महिनावारी पनि एउटा मुख्य कारण हो।

के हो महिनावारी ?

महिनावारी महिलामा हुने एउटा नियमित प्रक्रिया हो। महिला प्रजनन प्रक्रियाका लागि शारीरिकरूपमा योग्य रहेको यो एउटा संकेत पनि हो। यो समयमा महिलाको योनिबाट रगत बग्ने भएकोले यसलाई महिनावारी, रजश्वला, पर सर्नु, नछुने हुनु पनि भनिन्छ।

समाजले महिलामा हुने सामान्य शारीरिक प्रक्रियाका साथै शरीरको विकाससँगै हुने गतिको रूपमा महिनावारीलाई अझै लिन सकेको छैन। तसर्थ महिनावारीलाई सामान्य शारीरिक विकासक्रमका रूपमा लिन जरुरी छ। यो केटामान्छेमा हुने स्वप्नदोषभन्दा पृथक पहिचान हुँदै होइन। तर समाजले अतिरञ्जित पाराले हेर्ने गर्दा कैयौं महिलाले दुःख खेप्नुपरेको छ।

पाठेघरसँगै जोडिएर रहेका २ अण्डाशयले हरेक महिनामा पालो–पालो अण्ड उत्पादन गर्छन्। अण्ड उत्पादनपछि पाठेघरमा बच्चालाई चाहिने वातावरण बन्न थाल्छ। कमसल झिल्ली र रगत मिलेर तह बस्न थाल्छ।

सोही समयमा यो अण्ड पुरुषको शुक्रकीटसँग मेल हुन नपाएपछि उत्पादन भएको अण्ड तथा पाठेघरको रगत योनिमार्ग हुँदै बाहिरिन्छ, जसलाई महिनावारी वा रजश्वला भनिन्छ। शरीर विज्ञानले महिनावारीलाई एउटा नियमित चक्र मान्दछ।

एउटा चक्र शुरू भएपछि अर्को चक्र २१ देखि ३५ दिनसम्ममा दोहोरिन्छ। २८ दिनमा दोहोरिनुलाई स्वस्थताको प्रतिक मानिन्छ। साधारणतया महिनावारी १२ वर्षदेखि १५ वर्षसम्ममा शुरू हुन्छ र ४५ देखि ५५ वर्षमा बन्द हुन्छ।

यो अवस्थामा महिलालाई भान्छा वा अन्य ठाउँमा छिर्न नदिने र छुट्टै कोठा, एकान्त ठाउँ वा झुपडीमा बस्नुपर्ने छाउपडी चलन हाम्रो समाजमा छ। अछामतिर त यस्तै बेलामा छाउपडी गोठमा बस्दा सर्पले डसेर, गोठ नै भत्किएर महिलाले ज्यानै गुमाउनुपरेका घटना पनि सुन्नमा आउँछन्।

समाजले महिलामा हुने सामान्य शारीरिक प्रक्रियाका साथै शरीरको विकाससँगै हुने गतिको रूपमा महिनावारीलाई अझै लिन सकेको छैन। तसर्थ महिनावारीलाई सामान्य शारीरिक विकासक्रमका रूपमा लिन जरुरी छ।यो केटामान्छेमा हुने स्वप्नदोषभन्दा पृथक पहिचान हुँदै होइन। तर समाजले अतिरञ्जित पाराले हेर्ने गर्दा कैयौं महिलाले दुःख खेप्नुपरेको छ।

सामाजिक मान्यता 

नेपाली समाजमा महिनावारीलाई नछुने भएको भनिन्छ। यस बेला आफूभन्दा ठूला सबैलाई र साना भए पनि उपनयन गरिसकेको केटा मान्छेलाई छुन, खान दिन नहुने भनिन्छ।

अझ कुनै–कुनै ठाउँमा बेग्लै झुपडीमा राखिन्छ। चेतनाको कमी हुँदा नेपालका कैयौँ किशोरीले महिनावारीको समयमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ। महिनावारी हुँदा शारीरिक सरसफाइमा विषेश ध्यान पुर्याउनुपर्ने हुन्छ।

ग्रामीण महिला महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्छन्। यसले गर्दा उनीहरूको गुप्तांगमा संक्रमणको समस्या बढी देखिन्छ। गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ।

नेपालको पश्चिमी भेगतिर महिलाको अवस्था अझ नाजुक छ। उनीहरू महिनावारी हुँदा कुनै पनि कपडा प्रयोग गर्दैनन्। कसै–कसैले कपडा प्रयोग गरे भने पनि सूर्यलाई देखाउनुहुँदैन भन्ने अन्धविश्वास छ। यसैले उनीहरू कपडा घाममा सुकाउँदैनन् र अँध्यारोमै राख्छन्।

उनीहरू फेरि अर्काेपल्ट महिनावारी हुँदा त्यही कपडाको प्रयोग गर्छन्। यसले गर्दा उनीहरूको शरीरका भित्री अंगमा संक्रमण हुने सम्भावना बढी हुन्छ। महिनावारीमा प्रयोग गरेको कपडा घाममा सुकाउनुपर्छ।यसले कपडामा भएको परजीवी नष्ट हुन्छ। कपडा नरम र सुतीको हुनुपर्छ। नाइलन र पोलिस्टरको कपडा प्रयोग गर्नुहुँदैन। महिनावारी हुँदा प्रयोग गरिएका कपडा फेरिरहनुपर्छ। रगत लागेको कपडा प्रयोग गर्नुहुँदैन। यसले शरीर गन्हाउने, काछमा घाउ आउने र संक्रमण हुने गर्छ।

गर्भवती हुने समयको संकेत  

महिनावारी शारीरिक परिवर्तनमध्येको एक प्रक्रिया हो। समाजमा प्रचलित धेरै अन्धविश्वासका कारणले गर्दा थुप्रै बन्देज एवं निषेध गर्ने व्यवहारले वास्तविकताभन्दा काल्पनिक कुराहरूमा विश्वास गरेको देखिन्छ।

यो गलत प्रवृत्ति हो। महिनावारी नियमित प्रक्रिया भएकोले टाढा लगेर एक्लै राख्ने, छाउपडी थुन्नेजस्ता गतिविधिहरू गर्नुभन्दा सरसफाइमा ध्यान दिन लगाउने, माया र सहयोग गर्ने र पौष्टिक खानाको प्रबन्ध गर्न जरुरी छ।

यो बेलामा हर्मोनको मात्रामा आउने परिवर्तनका कारण व्यक्तिको व्यवहारमा परिवर्तन देखिन्छ। उसलाई अन्य बेलामा भन्दा माया र आत्मविश्वासको थप आवश्यकता पर्दछ।
यो गर्भाधानका लागि पनि उपयुक्त भएको संकेत भएकोले अविवाहितका लागि अभिभावकले विशेष निगरानी र सतर्कता दुुवै अपनाउनुुपर्दछ। यसको अर्थ सूर्यसमेत हेर्न हुँदैन भनेर अन्धकारमा लगेर थुन्नु भनेको होइन।महिनावारी हरेक महिना महिला गर्भवती हुन तयार भएको संकेत पनि भएकोले एउटी महिलाका लागि एउटा अवसर र तन्दुरुस्तीको पर्याय पनि हो।

समस्याहरू 

यो समय शारीरिक विकासक्रमका हिसाबले किशोरावस्थाको समय हो। किशोरावस्था भनेको ं विद्यालयीय उमेर पनि हो। तसर्थ महिनावारी हुँदा लेखपढ गर्न हुँदैन, केटामान्छेसँग छोइन मात्र होइन उनीहरूको मुखसम्म देख्न हुँदैन भनेर विद्यालय नपठाएको पनि पाइन्छ।

यसो गर्नु उनीहरूको मानवअधिकारमाथिको हनन हो। यसै कारण शैक्षिक क्षति त हुन्छ नै, उनीहरूले पढाइलाई बीचैमा छाड्ने सम्भावना पनि प्रबल देखिन्छ।

शारीरिक प्रक्रियालाई धार्मिक या सामाजिक नाममा गलत परिभाषा र व्यवहारका साथै छात्राको नैसर्गिक शारीरिक अधिकारमाथि प्रतिबन्ध लगाउने कार्यको अन्त्य गर्नुपर्ने देखिन्छ।
विभिन्न अनुसन्धानले छात्रा महिनावारी हुँदा विद्यालय छोड्नेको संख्या ५० प्रतिशतभन्दा बढी देखाएको छ। यसको प्रमुख कारणमा किताब छुन नहुने, साथी र शिक्षकलाई छुन हुन्न भन्ने गलत मनोविज्ञान, परम्परागत धारणा र मान्यता आदि रहेको पाइन्छ
पुरातन सोच, छाउपडी प्रथा, विद्यालयको शौचालय प्रयोगमैत्री नहुनु, शौचालयको ढोका राम्रोसँग नलाग्नु, पर्याप्त पानीको अभाव, सेनेटरी प्याड फाल्ने ठाउँको अभावमा झाडीमा फाल्ने या झोलामा बोकेर ल्याउनुपर्ने बाध्यता, शारीरिक र मानसिकरूपमा संवेदनशील समयमा उचित परामर्शको अभावका कारण यो बेला छात्राहरू विद्यालय आउन मान्दैनन्।

आइहाले पनि मानसिक तनावका कारण सक्रिय सिकाइ हुन सक्दैन। स्वास्थ्यसम्बन्धी जानकारी नभएकोले गर्दा संक्रमित रोगबाट ग्रसित हुनुपर्ने बाध्यात्मक अवस्था पनि आउन सक्छ।
समाधान यसरी गरौं 
महिनावारीका बारेमा तल्लो तहबाटै पाठ्यवस्तुहरू समावेश गर्न जरुरी छ। यसका लागि अभिभावक शिक्षा कार्यक्रम अघि बढाउनुपर्छ। महिनावारी हुनु पाप होइन, यो त प्राकृतिक र स्वाभाविक प्रक्रिया हो भन्ने धारणाको विकास गर्न जनचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ।

विद्यालयको भौतिक संरचना प्रभावकारी बनाउनुपर्ने, बालमैत्री कक्षाकोठाको व्यवस्थापन, शौचालय प्रयोगकर्तामैत्री बनाउनुपर्ने, सेनेटरी प्याड निःशुल्क वितरण, प्याड सुरक्षित तरिकाले फेर्ने र फाल्ने ठाउँको व्यवस्था हुनुपर्नेजस्ता विषयमा विद्यालय व्यवस्थापन समिति सक्रिय हुनुपर्छ।

यसै गरी विद्यालयको शौचालयभित्र पानीको व्यवस्था हुनुपर्ने, अधिक दुखाइ हुने छात्रालाई अराम कक्षको व्यवस्था गर्नुपर्ने, शारीरिक र मानसिकरूपमा संवेदनशील उमेर भएकोले उचित परामर्श दिनुपर्ने, सरसफाइ एवं स्वास्थ्यसम्बन्धी जानकारी दिनुपर्ने, महिनावारी हुनु पाप होइन स्वस्थ छात्राको पहिचान हो भन्ने चेतना जगाउने कार्यक्रममा जोड दिनुपर्ने देखिन्छ।

रकारी अवधारणा 

नेपालमा करिब ८१ प्रतिशत सामुदायिक विद्यालयमा मात्र शौचालयको सुविधा रहेको छ। छात्रामैत्री शोचालयको व्यवस्था ज्यादै न्यून रहेका छन्।

सरकारले एसईई परीक्षामा सम्मिलित हुने छात्राहरूलाई मानसिकरूपमा त्रास नलिई सहजरूपमा परीक्षामा सहभागी होऊन् भन्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयअन्तर्गतको महिला तथा बालबालिका शाखाले एकमुष्टरूपमा केही रकम शिक्षा विकास तथा समन्वय इकाइमार्फत सेनेटरी प्याड खरिद गरी परीक्षा केन्द्रहरूमा वितरण गर्ने व्यवस्था गरेको थियो।

केही गैरसरकारी संस्थाहरूले पनि विद्यालयमा निःशुल्क प्याड वितरण गरेको देखिन्छ। महिनावारी भएकाहरूको मनोवैज्ञानिक समस्या बुझ्न तथा समाधानको लागि सरकारले स्कुल नर्सको अवधारणा ल्याएको छ तर यो कार्यान्वयनमा आइसकेको छैन।

विद्यालयमा प्रवर्तनात्मक, प्रतिकारात्मक र उपचारात्मक स्वास्थ्य, निःशुल्क सेनेटरी प्याडको व्यवस्थापनका साथै विद्यालयमा नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७६ जारी भैसकेको छ।

अन्तर्राष्ट्रिय रूपमा अंग्रेजी पाँचौं महिनाको २८ तारिखलाई महिनावारी दिवसको रूपमा नेपालमा पनि मनाउँदै आइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सामुदायिक साथै निजी विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सारिएको, (हाल प्रदेश नं. ३ सरकारले २० वटा स्कुलमा) पाइलट प्रोजेक्टको रूपमा कार्यक्रम शुरू भैसकेको अवस्था छ भने कतिपय स्थानीय तहले विद्यालयमा सेनेटरी प्याडको निःशुल्क वितरणका साथै भेन्डिङ मेसिनको व्यवस्थापन गरेका छन्।

आ.व. २०७६/०७७ को नीति तथा कार्यक्रममा महिनावारी हुँदा विद्यालय छाड्ने छात्राको संख्या न्यून गर्न सो समयमा पनि विद्यालयमा जान प्रेरित गर्न सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत १४ लाखभन्दा बढी छात्राहरूलाई सेनेटरी प्याड निःशुल्क वितरण गर्ने कार्यक्रम सार्वजनिक भएको थियो। यसको शुरूवात गत पुस १४ गते शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले गरिसकेका छन्।

(लेखक पौडेल शिक्षा सेवाको दशौं तहका अधिकृत कर्मचारी हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्