त्रिवेणीधाम धार्मिक पर्यटनको प्रमुख गन्तव्य



घनश्याम बगाले

[email protected]

नेपालको मध्य दक्षिणमा पर्ने पौराणिक तीर्थस्थल त्रिवेणीधाम धार्मिक पर्यटनका दृष्टिले प्रमुख गन्तव्य बनेको छ। प्राकृतिक विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जको पश्चिममा पर्ने, सुन्दर र मनोरम नदी जंगलको काखमा अवस्थित त्रिवेणीधाम आफैंमा एक पवित्र भूमि हो।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ मा रहेको त्रिवेणीधाममा विभिन्न धर्म र सम्प्रदायका गरी करिब ३३ वटा मठ–मन्दिर रहेका छन्।

धार्मिक महत्व

हिन्दू पौराणिक कथनअनुसार नारायणी नदीमा पानी खान आएको हात्ती (गज) लाई गोही (ग्राह) ले आक्रमण गरेपछि भगवान् विष्णुले सुदर्शन चक्रको सहायताले गोहीबाट हात्तीको उद्धान गर्नुभएको थियो। जुन स्थान अहिले गजेन्द्र मोक्ष दिव्यधाम अर्थात् गजग्राह क्षेत्रका रूपमा परिचित र प्रसिद्ध रहेको छ।

त्यसै गरी कुनै बेलाका कुख्यात रत्नाकर डाकु यहाँको भूमिमा आई आफ्नो तप साधनाबाट महर्षि वाल्मीकि बन्न सफल भएको र यही ठाउँमा उनले आश्रम बनाई गुरुकुल चलाएको जनविश्वास रहँदै आएको छ।

स्थानीय त्रिवेणीको विकासका लागि नेपाल–भारतबीच सहज आवत–जावतका लागि व्यवस्थित भन्सार कार्यालय, पूर्व–पश्चिम जोड्ने मुख्य राजमार्गसम्म छोटो पहुँचमार्गको विकास र प्राचीन मठ–मन्दिरको जीर्णोद्धार अपरिहार्य ठान्दछन्।

यसरी नै यस पुण्य क्षेत्रमा विभिन्न योगी महात्माले आफ्नो तप र साधनास्थल बनाइ दृश्य र अदृश्य शक्तिका साथ विचरण गर्ने गरेको मुक्तिनाथ पीठाधिश्वर स्वामी कमल नयनाचार्य बताउनुहुन्छ।

त्रिवेणीधाम विश्वमा एकमात्र शालिकग्राम पाइने कृष्ण गण्डकीको समग्र स्वरूप मुक्तिनाथ भगवान्को पाउ भएकाले हिन्दू धर्मानुरागीको यो पहिलो तीर्थस्थल भएको कमलनयनाचार्य बताउनुहुन्छ।

पवित्र स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको पावन संगम त्रिवेणीमा आई तीर्थालुले गंगा स्नान गरेमा यस जन्ममा गरेका सबै पाप नास भई स्वर्ग प्राप्तिसम्मको पुण्य मिल्ने धार्मिक विश्वास रहिआएको छ।

श्रद्धालुमा माघेऔंसीलगायत विभिन्न पर्वहरूमा त्रिवेणी धाममा आई स्नान गर्दा आफ्ना मनोरथ पूरा हुने विश्वास रहेको छ। कतिपय श्रद्धालु आफूले सन्तान प्राप्ति, धन एवं ऐश्वर्य प्राप्ति र दीर्घरोग निवारणको भाकलसहित त्रिवेणी स्नान गर्न आउने गरेको बताउँछन्।

नारायणी नदीलाई स्थानीयले कुमारवर्ती गंगाका रूपमा पनि पुज्ने गर्दछन्। अन्य गंगा र सरोवरमा सिन्दुर टीका चले पनि यस स्थानमा उनीहरूले सिन्दुर नचढाउने प्रचलन रहेको पाइन्छ।

त्रिवेणीमा लाग्ने मेला र दर्शनस्थल

त्रिवेणीमा विशेष गरी माघे औंसी, माघे सक्रान्ति, चैत वारणी, रामनवमी र साउनको श्रावणी मेला भर्न श्रद्धालु आउने गर्दछन् भने माघे औंसीमा लाखौंको संख्यामा नेपाल तथा भारतबाट तीर्थालु त्रिवेणी आइपुग्छन्।

श्रद्धालुले नारायणी नदीमा स्नानपश्चात् जप, ध्यान, तर्पण, श्राद्ध र गौदानसमेत गरी दीन–दुःखीलाई भिक्षा दिई यहाँ रहेका मठ–मन्दिरहरूको दर्शन तथा अवलोकन गर्ने चलन रहिआएको छ।

जसमा नारायणी नदीपारि रहेका रामायणमा वर्णित वाल्मीकि आश्रम, सीताकुण्ड, सीता पाताल प्रवेशस्थल, लवकुशले घोडा बाँधेको खम्बा, जटाशंकर, नरदेवी मन्दिरलगायतका प्रसिद्ध तीर्थस्थल रहेको छ।

यसरी नै प्रसिद्ध गजग्राह क्षेत्रस्थित गजेन्द्र मोक्ष दिव्यधाम, नागाबाबा कुटी, बालपुरी कुटी, बैंकटेश मन्दिर, राम–जानकी मन्दिर, पत्थरबाबा कुटी, कौलानी माता मन्दिर, गुदारबाबा समाधिस्थल तथा प्राचीन शिवपुरगढीको तीर्थालुले अवलोकन गर्ने गर्दछन्।

त्रिवेणी क्षेत्रको विकासमा लाग्दै आउनुभएका स्वामी कमल नयनाचार्यको अथक प्रयासमा यहाँ सुन्दर गजेन्द्र मोक्ष दिव्य धाम बनेको छ।
करिब १५ बिगाहा क्षेत्रफलमा फैलिएको यस दिव्यधाममा रहेका शिशमहललगायत विभिन्न देव मन्दिर, यज्ञशाला, गौशाला, वेदविद्या आश्रम पर्यटक आकर्षणका केन्द्रका रूपमा रहेका छन्।

जसको दर्शन अवलोकन तथा त्रिवेणी क्षेत्रको दृश्यावलोकनका लागि दिनहुँ नेपाल तथा भारतको विहार र उत्तर प्रदेशबाट सयौं पर्यटक आउने गरेको त्रिवेणीका सञ्चारकर्मी पे्रमचन्द्र रौनियार बताउनुहुन्छ।

यात्री र पर्यटकका लागि बाटो र बसोबास

त्रिवेणीमा पर्यटकका लागि भन्दै २ वटा ठूला स्तरीय होटल बन्दै गरेका छन् भने आधा दर्जन अन्य होटल पनि अहिले सञ्चालनमा रहेका छन्।
त्यसो त प्राचीन धर्मशालाहरूले पनि यहाँ आउने श्रद्धालु भक्तजन र धार्मिक पर्यटकलाई रात बिताउन आश्रय दिँदै आएको छ।

त्रिवेणीधाम पुग्ने पर्यटक तथा तीर्थयात्रीका लागि हाल एकमात्र बाटो बर्दघाट–त्रिवेणी सडक खण्ड रहेको छ।पूर्व–पश्चिम महेन्द्र राजमार्ग बर्दघाट बजारमा रहेको टीसीएन चोकबाट करिब २८ किमि मोटर बाटो पार गरेपछि त्रिवेणीधाम पुगिन्छ।

बर्दघाटदेखि प्रतापपुरसम्म सडक मिलेको भए पनि प्रतापुरबाट पश्चिम गण्डकको छेउछाउ नहरैनहर रानीनगरसम्म बाटो रहेको छ, जुन केही जोखिमपूर्ण पनि मानिन्छ। त्यसो त गंगाबस्ती हँुदै नेपाली नहरको बाटो पनि छिवनी, महलबारी र शिवपुर गढी हुँदै त्रिवेणी पुग्न सकिन्छ।

गण्डक ब्यारेज हेर्नलायक

त्रिवेणीधाममा नेपाल–भारत बीचको गण्डक सम्झौताअनुरूप सन् १९६० को दशकमा बनेको गण्डक ब्यारेज रहेको छ। गण्डक ब्यारेजका कारण नारायणी नदीमा विशाल जलाशय बनेको छ।

यही ब्यारेजबाट भारतले पूर्वी र पश्चिम गरी दुई नहरमार्फत आफ्नो भूमिलाई सिञ्चित गर्दै आएको छ। यही विशाल ब्यारेज नै स्थानीयले नेपाल–भारत गर्ने एकमात्र पुल बनेको छ। जसलाई स्थानीय भाषामा भैसालोटन ब्रिज पनि भनिन्छ।

यहाँ आउने दर्शनार्थी तथा पर्यटक यही पुल पार गरी भारतको वाल्मीकि नगरस्थित टंकी बजारसम्म पुग्ने गर्दछन्।नारायणी नदीपारि रहेको चितवन जिल्लास्थित साविक गर्दी–९ मा पर्ने वाल्मीकि आश्रम मोटरमार्ग भएर जान यही ब्यारेज पुलको प्रयोग गर्नुपर्ने हुन्छ।

जहाँ भारतीय सुरक्षा बल एसएसबी र वन विभागका कर्मचारीको कडा नियन्त्रण र निर्देशनअनुसार मात्र सर्वसाधरणका लागि सम्भव छ।
वाल्मीकि आश्रम जाने अर्को विकल्प भनेको नारायणी नदीमा बनेको ठूलो जलाशयमाथिको डुंगा यात्रा पनि हो।

धार्मिक पर्यटक नारायणी नदीमा डुंगा चढी वाल्मीकि आश्रम पुग्ने गर्दछन्। त्यसो त नेपाल सरकारको पहलमा स्थानीय वैष्णवटोल नजिकबाट नारायणी नदीमा हाल झोलुङ्गे पुल बनाउने काम पनि भइरहेको छ जुन सम्पन्न हुने तयारीमा रहेको छ।

आगामी असारसम्ममा सकिने यस पुलको निर्माणपछि यहाँ आउने श्रद्धालु पर्यटक कुनै जोखिमबिना आफ्नै भूमिबाट पवित्र वाल्मीकि आश्रम पुग्न सक्दछन्।

नदी र सोमेश्वर पहाड प्राचीन मार्ग

त्यसै गरी त्रिवेणीधाम पुग्ने अर्को विकल्प प्राचीन हुलाकीमार्ग पनि हो। नारायणी नदीले बनाएको चुरे गल्छीको किनारैकिनार बहुवन जोड्ने यो मार्ग दुम्कीबास र अरूणखोला बजारबाट निकै छोटो दुरीको छ।

प्राचीन कालमा नेपालतर्फबाट त्रिवेणीधाम पुग्न नारायणी नदीको बाटो हुँदै डुंगामा आवत–जावत गर्ने चलन थियो। कतिपय मानिस नारायणी तरेर चुरेको शनिश्चरे डाँडो सोमेश्वर पहाड हिँडेर त्रिवेणी पुग्ने गर्दर्थे।

युनेस्कोमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज यही क्षेत्रमा पर्ने भएकाले हाल यी मार्गको प्रयोग र विकास निर्माणमा व्यवधान रहेको बताइन्छ। त्रिवेणीका बासिन्दाले विगत केही वर्षअघि यो मार्गको ट्र्याक खोले पनि यो अहिले बन्द रहेको छ।

विकास र प्रचारमा ढिलाइ

नेपाल सरकारले त्रिवेणीलाई आन्तरिक पर्यटनका १०० गन्तव्यमा समावेश गरी सन् २०२० को नेपाल भ्रमण वर्ष मनाइरहँदा त्रिवेणीधामको विकास र पर्यटन क्षेत्रको प्रचार–प्रसारमा ढिलाइ गर्न नहुने सरोकारवालाहरू बताउँछन्।

त्रिवेणीधाम आफैंमा एक धार्मिक पर्यटकीय गन्तव्य मात्र नभई ४ नम्बर प्रदेशस्थित गण्डकी क्षेत्रकै एकमात्र भारतसँग सीमा जोडिएको सामरिक महत्वको भूमि हो। यहाँको धार्मिक एवं पर्यटकीय विकाससँग समग्र गण्डकी प्रदेशकै विकासको खाकासँग जोडिएको छ।

यही मार्ग भएर कालीगण्डकीको किनारैकिनार चीनको स्वशासित क्षेत्र तिब्बत पुग्ने करिडोरको निर्माणले नेपाली भूमि त्रिवेणी र कोरलामार्फत विशाल देश भारत र चीनलाई एक–अर्कामा जोड्न सक्दछ।

भारतसँग सीमा जोडिएको त्रिवेणी क्षेत्रमा काम चलाउ छोटी भन्सार रहेको छ। सुरुमा ५ हजार सम्मको माल–सामान भन्सार गर्ने अधिकार पाएको यो छोटी भन्सारले हाल २५ हजारसम्म राजस्व संकलनको काम गर्दै आएको छ।

व्यापार घट्यो, मेला सुस्तायो

कुनै बेला मध्य नेपालका पहाडी, भित्री मधेस र तराईका कृषि, पशु तथा घरेलु उत्पादन बिक्री गर्ने एकमात्र थलो त्रिवेणी धाम मेला अहिले सुस्ताउँदो अवस्थामा छ।

माघे औंसीका साथै अन्य चाडपर्वका बेला नेपाल तथा भारतका व्ययसायीको ठूलो जमघट रहने यो स्थान अहिले प्रायः वर्षभरि नै सुनसान देखिन्छ।

स्थानीय बूढापाकाहरू त्रिवेणी मेला भर्न पूर्वी तथा पश्चिम नवलपरासी, चितवन, बारा, पर्सा, रौतहट, रूपन्देही, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँचीबाट मानिस आउने गरेको विगत सुनाउँछन्।

उनीहरूले पश्चिम नेपालगन्ज, बलरामपुर, कृष्णनगरका साथै भारतका विहार बगाहा, बेतिया, मोतिहारी, सिवान, छपरा र उत्तर प्रदेशका गोरखपुर, बस्ती, गोन्डा, अयोध्या, बनारससम्मका मानिसले मेला भर्ने गरेको बताउँछन्।

प्राचीन समयमा करिब एक सातादेखि नै लाखौंलाख मानिसको उपस्थितिमा व्यस्त रहने त्रिवेणी क्षेत्र हाल दुईदिने ठूलो मेलामा सीमित बनेको छ। पहिला–पहिला मेलामा हुने लाखौंको उपस्थितिलाई बजार बनाउँदै भारतका विभिन्न ख्यातिप्राप्त औद्योगिक उत्पादक कम्पनीहरू त्रिवेणी ओइरिन्थे।

भारतमा बनेका छाला जुत्ता, भाडा वर्तन, तैयारी कपडा, छाता चप्पल, सिध्रा, भुजा, चिनी, नुन मट्टीतेल यहाँ बिक्री हुने मुख्य सामानमा पर्दथे। जुन नेपाल तथा भारतका सीमावर्ती क्षेत्र र नेपालको पहाडी भेगका बासिन्दाले खरिद गरी लैजाने गर्दथे।

कलकत्ता, मुम्बईलगायतका स्थानबाट ठूल्ठूला सर्कस, ड्रामा र प्राचीन भोजपुरी अवधि भाषाका गायक तथा नृत्यकारहरू त्रिवेणीधाम आई हप्तौं बस्ने गरेको स्थानीय बताउँछन्। नेपालबाट पनि भारतीय उपभोक्तालाई लक्षित गरी धान, चामल, दाल, फलफूल, तेलहन, बाँस, अम्रिसो, राडी, पाखीलगायतका स्वदेशी उत्पादन त्रिवेणीमा बिक्रीका लागि लगिन्थे।

अहिले नेपाल सरकारको ध्यान धार्मिक एवं ऐतिहासिक पर्यटकीय नगरी त्रिवेणीमा कम परेको सरोकारवालाहरूको भनाइ रहेको छ। छिमेकी देश भारतले भने आफ्नै भूमिमा वाल्मीकि नगर, वाल्मीकि रोडको निर्माण गरी पौराणिक वाल्मीकि क्षेत्रको विकासमा ध्यान दिन थालेको छ।

यसरी नै विगत केही वर्षदेखि त्रिवेणीधामभन्दा करिब ६० किमि दक्षिण, उत्तर प्रदेश राज्यको छितौनी पनिहवा स्टेसननजिक नदीकिनारमा भारतीयले त्रिवेणीको विकल्पमा माघे औंसी मेला लगाउने गरेको स्थानीयहरू बताउँछन्।

बृहत्तर त्रिवेणीधाम विकास समितिको खाँचो

लाखौंको उपस्थिति रहने त्रिवेणी मेलालाई व्यवस्थित ढंगले सञ्चालन गर्ने हालसम्म स्थायी किसिमको कुनै सरकारी संरचना नरहनुमा जानकारहरूले चिन्ता जनाएका छन्।

परम्परागतरूपमै हरेक वर्ष यहाँको तारघाट यातायातका साधन र हाट बजारीका व्यापार व्यवसायको ठेक्काबाट आउने आम्दानी नै मेला व्यवस्थापनको मुख्य स्रोत हुने गरेको छ।

आगामी वर्षबाट भने स्थानीय निकायको सक्रियतामा स्थायी तवरको मेला व्यवस्थापन समिति गठन गरी त्रिवेणीको मेलालाई दीर्घकालीनरूपमा व्यवस्थित गर्ने प्रस्ताव अधि बढेको त्रिवेणी ६ का वडा अध्यक्ष प्रितम गुरुङ बताउनुहुन्छ।

भारतले आफ्नातर्फ गरेको धामको विकास र प्रचारसँगै तीर्थालु भारततर्फ स्नान गरी उतै मेला भरेर फर्कने गरेको त्रिवेणी धामको विकासमा अनवरत लाग्नुभएका स्वामी कमलनयनाचार्य बताउनुहुन्छ।

स्वामीको प्रयासमा पौराणिक गजग्राह क्षेत्रमा सुव्यस्थित गजेन्द्रमोक्ष दिव्यधाम बने पनि त्रिवेणीको प्राचीन बजार क्षेत्र र ऐतिहासिक मन्दिर र दरबार एवं प्राचीनगढी क्षेत्र प्रायः खण्डहर नै रहेका छन्।

यस क्षेत्रबाट निर्वाचित संघीय सांसद तिलक महत त्रिवेणी क्षेत्रको बृहत्तर विकासमा संघ, प्रदेश र स्थानीय सरकार एकमतले लागेको बताउनुहुन्छ। त्रिवेणीमा सडकको स्तरोउन्नति, उत्तर–दक्षिण जोड्ने छोटो सडक, व्यवस्थित भन्सार कार्यालय र नारायणी नदीमा पुल बनाउने कार्यमा आफू जोडबलले लागिपरेकोे महतले बताउनुभयो।

निकुञ्जमा पर्ने प्राचीन सडकको निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका साथ वन मन्त्रालयमार्फत युनेस्कोसँग पहल गरी जलमार्गको समेत विकास गर्ने प्रयास भइरहेको महतले जानकारी दिनुभयो।

स्थानीय त्रिवेणीको विकासका लागि नेपाल–भारतबीच सहज आवत–जावतका लागि व्यवस्थित भन्सार कार्यालय, पूर्व–पश्चिम जोड्ने मुख्य राजमार्गसम्म छोटो पहुँचमार्गको विकास र प्राचीन मठ–मन्दिरको जीर्णोद्धार अपरिहार्य ठान्दछन्।

 

प्रतिक्रिया दिनुहोस्