राष्ट्रिय गजल महोत्सवको तयारी पूरा



काठमाडौं, (नेस)।

नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा संयुक्त रूपमा माघ १५ र १६ गते प्रज्ञा भवनमा आयोजना गरिने राष्ट्रिय गजल महोत्सवको सबै तयारी पूरा भएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख एवम् महोत्सवका संयोजक प्रा.डा. हेमनाथ पौडेलले प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलोपटक आयोजना गर्न लागिएको राष्ट्रिय गजल महोत्सवको सबै तयारी पूरा भएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘महोत्सवमा सहभागी हुने गजलकार, कार्यपत्र प्रस्तोता, समीक्षक र प्रतिनिधिहरूको छनोट र आवास तथा भोजन व्यवस्थापनका साथै सबै आवश्यक तयारी पूरा भएको छ।’

पौडेलका अनुसार महोत्सवमा सातै प्रदेशबाट पाँच पाँच जना प्रतिनिधि गजलकारका साथै उपत्यकाबाट करिब ४० गरी गरी ७५ जना प्रतिनिधि गजलकारको सहभागिता रहनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईबाट माघ १५ गते बिहान १० बजे महोत्सवको उद्घाटन हुनेछ। उद््घाटन सत्रपछि प्रदेशबाट छानिएर आएका गजलकारहरूको गजल वाचन हुनेछ भने बेलुकी वरिष्ठ गजलकारले गजल सुनाउनेछन्।

महोत्सवको दोस्रो दिन माघ १६ गते पहिलो सत्रमा गजलसम्बन्धी बहस हुनेछ। बहसमा ‘नेपाली गजल ः परम्परा र प्रवृत्ति’ शीर्षकमा टीकाराम उदासीले कार्यपत्र प्रस्तुत गर्नेछन् भने डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ र घनेन्द्र ओझाले ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्नेछन्।

अर्को सत्रमा ‘आजको गजल लेखन ः चुनौती र दिशा’ विषयमा परिसंवाद हुनेछ। त्यसपछि प्रादेशिक गजल लेखनको अवस्थाबारे प्रतिवेदन प्रस्तुति हुनेछ भने साँझ गजल तरन्नम् हुनेछ। तरन्नम्मा नेपालगन्जका प्रसिद्ध गजलगायकका साथमा अग्रज गजलकारहरू सम्मिलित हुनेछन्।

सोही साँझ गजलसम्बन्धी महत्वपूर्ण घोषणापत्र जारी गर्दै राष्ट्रिय गजल महोत्सवको समापन हुनेछ। महोत्सवको समापन युवा तथा खेलकुदमन्त्री जगत् विश्वकर्माबाट हुनेछ।

उक्त महोत्सवमा उद्घाटनका दिन करिब १२ सय र दोस्रो दिन करिब ३ सय जनाको सहभागिता रहनेछ।
महोत्सवका अवसरमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली गजल’ र ‘प्रज्ञा नेपाली बाल गजल’को लोकार्पणसमेत हुनेछ।

प्रतिक्रिया दिनुहोस्