भत्कियो छाउगोठ ठडिँदै सुत्केरी गोठ



ललित सिंह, बझाङ

खप्तडछान्ना गाउँपालिका ७ गडराय गोर्खाली गाउँ बस्ने वंश खड्काकी बुहारी २ साता पछाडि सुत्केरी हुने अवस्थाकी छन्। यस अगाडि महिलाहरु सुत्केरी हुँदा र महिनावारी हुँदा बस्ने बनाएका छाउगोठहरु भत्काएपछि खड्कालाई बुहारी सुत्केरी हुँदा कहाँ बसाल्ने भन्ने चिन्ता छ।

गाउँमा रहेका छाउगोठ भत्काएपछि बुहारीलाई सुत्केरी हुन घरभित्र बसाल्नुपर्ने तर खड्कालाई पनि देवीदेवता रिसाउने डर भएकाले उनी सुत्केरी हुने बुहारीलाई भित्र बसाल्ने अवस्थामा छैनन्।

खड्काले सुत्केरी हुने बुहारीका लागी नयाँ छाउगोठको चाँजोपाँजो गरिरहेका छन्। घरभन्दा अलि टाढा रहेको सुत्केरी बसाल्ने छाउगोठ केही दिनअगाडि प्रहरी आएर भत्काइदिएपछि सुत्केरी हुने बुहारीका लागि वंश खड्का आफ्नो घरको कौसीको भुईंपट्टि काठको फल्याक मिलाएर सानो खोका बनाउन थालेका छन्।

बुहारी सुत्केरी हुने अब केही दिन बाँकी छ, नयाँ छाउगोठ निर्माण गरिरहेका वंश खड्काले भन्नुभयो– ‘सुत्केरी हुने बुहारीलाई घरभित्र बसाल्न देवीदेवताको डर छ, त्यसैले नयाँ बस्ने व्यवस्था गर्दै छु ।’ यस गाउँमा महिलाहरु सुत्केरी हुँदा छाउगोठमा नै १९ दिनसम्म बस्ने गर्दछन्। यस्ता गोठमा सुत्केरी र महिनावारी भएका महिलाहरु बस्ने गर्दछन्।

घरबाहिर छाउगोठमा बस्ने सुत्केरी महिलाहरु बिसाँै दिनको दिन नुहाइधुवाइ गरी गाईको गाँैत खाई, घरभित्र जाने गर्दछन्। साथै लुगाकपडा, आफ्नो शरीर र नवजात शिशुको शरीरमा पनि गाँैत छर्केपछि सुत्केरी महिलाहरु शुद्ध भएको मानेर घरभित्र बसाल्ने प्रचलन रहेको छ।

गोर्खाली गाउँका वयोवृद्ध गोरखबहादुर सिंहले भने गाउँघर कुनाकन्दरामा हामी देवीदेवताकै आसभरोसाले बसेका छाँै तर सरकार आएर छाउगोठ भत्काएर गयो गाउँमा देवीदेवता छाउपडी प्रथा मान्नुपर्छ भनेर भन्छन्, हामीलाई दोधार भइरहेको छ।

उनले भने – ‘प्रहरी आएर धमाधम छाउगोठहरु भत्काएर गए अब सुत्केरी हुँदा र महिनावारी हुँदा महिलाहरु कता बस्ने भन्ने गाउँलेहरुलाई चिन्ता लागेको छ।’ प्रहरीहरुले यस गाउँमा १५ वटा छाउगोठहरु भत्काएका थिए।

छाउगोठ भत्काए पनि गाउँलेहरुले सुत्केरी हुने महिलाहरु र महिनावारी हुने महिलाहरुका लागि आफ्नै घर नजिकै भए पनि वैकल्पिक छाउगोठहरु निर्माण गरिरहेका छन्।

खप्तडछान्ना–७ का वडाध्यक्ष रामबहादुर सिंहले भने प्रहरी प्रशासनसहित हामी जनप्रतिनिधिहरु मिलेर छाउगोठहरु त धेरै भत्कायौ तर गाउँलेहरु देवीदेवताको डरले घरभित्र बस्न सक्दैनाँै भन्छन् गाह्रो छ।

नेपाल सरकार गृह मन्त्रालयबाट परिपत्र आएपछि जिल्लाको प्रहरी प्रशासनले छाउगोठ भत्काउने अभियान एक महिना अगाडि नै चलाएको छ। प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार जिल्लाभरि ९९ भन्दा बढी छाउगोठ भत्काएको जनाएको छ।

प्रहरी प्रशाशनले छाउगोठ भत्काउने अभियान चलाए पनि तर गाउँघरका मानिसहरु भने तत्काल छाउपडी प्रथा सुधार नहुने र यसका लागि जनचेतना साथै गाउँलेहरुको आर्थिक अवस्थामा सुधार गरिनुपर्ने जोड दिन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्