दुई वर्ष गयो काम भएन



सुरेश तामाङ, काठमाडौं।

सम्झौता भएको दुई वर्ष बितिसक्दासम्म काठमाडौं उपत्यकाका विभिन्न बस्ती र उद्योगहरूबाट निस्कने ढलयुक्त फोहोर पानीको व्यवस्थापन हुनसकेको छैन। यसको व्यवस्थापन नहुँदा शहरै दुर्गन्धित बन्ने गरेको छ।

उक्त समस्याको दीर्घकालीन समाधानका लागि चाइनिज कम्पनी सांघाई सफबोन वाटर सर्भिसलाई यसको ठेक्का दिइएको थियो।सन् २०१९ डिसेम्बरसम्म काम सक्ने गरी उक्त कम्पनीसँग सन् २०१७ जनवरीमा ठेक्का सम्झौता भएको थियो।

ठेकेदारसँग प्रशोधन केन्द्रसँग विस्तृत डिजाइनसहित निर्माण सम्पन्न गर्न ठेक्का भएको थियो तर तोकिएको भाकाभित्र ठेकेदारले डिजाइनको कामबाहेक निर्माणको काम हुनसकेन।

सम्झौताअनुसार उक्त कम्पनीले तोकिएको समय सीमाभित्र तीन अर्ब २१ करोड लागतमा भक्तपुरको सल्लाघारी, ललितपुरको कोड्कु र धोवीघाटमा फोहोर पानी प्रशोधन केन्द्र बनाइसक्नुपर्ने थियो।

योजनाअनुसार प्रशोधन केन्द्रमा विभिन्न वस्ती तथा उद्योगबाट निस्किएको फोहोर पानी प्रशोधन गरी लेदो र गन्धरहित ढंगले विभिन्न खोला र नदीमा मिसाइनुपर्ने थियो। तर कोड्कु प्रशोधन केन्द्रबाहेक अरूको निर्माण कार्य प्रारम्भ नै भएको छैन।

आयोजना कार्यान्वयन निर्देशनालयका उपआयोजना प्रमुख उज्ज्वल प्रजापतिले चिनीयाँ कम्पनीले सम्झौताअनुसार काम गर्न नसकेको बताउनुभयो।

निर्देशनालयकै फोहोर पानी व्यवस्थापन परियोजना हेर्ने सिनियर डिभिजनल इन्जिनियर सुरज बमले भने स्थानीयको अवरोधका कारण प्रशोधन केन्द्र निर्माणको काम अगाडि बढाउन नसकिएको दाबी गर्दै भन्नुभयो– ‘१५ महिनाजस्तो अवरोध रह्यो। बल्ल विश्वस्त हुनुभएको छ। अब काम अघि बढ्छ।’

प्रतिक्रिया दिनुहोस्