सापकोटा सर्वसम्मत



मधुसूदन रायमाझी, काठमाडौं।

प्रतिनिधिसभाको सभामुखमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको छ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरूपमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि सापकोटाको मात्र एकल उम्मेदवारी परेको थियो।

बैठकमा सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पारदर्शिता र जवादेहिताका आधारमा सदनका काम अगाडि बढाउने विश्वासका साथ सापकोटालाई सभामुखको प्रस्ताव गरिएको बताउनुभयो।

उहाँले सभामुखका लागि सापकोटाको विकल्पमा अरू कुनै उम्मेदवारी नपर्नुले आफूहरूको चयन उपयुक्त देखिएको बताउनुभयो। नेम्वाङको प्रस्तावमाथि सोही पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ र ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गर्नुभएको थियो।

पूर्वसभामुख समेत रहनुभएका घर्तीले सापकोटाको एकमात्र उम्मेदवारी पर्नुले सहमतिको वातावरण बनेको तर्क गर्दै सापकोटा इमान्दार र निष्ठावान् नेता भएकाले प्रतिनिधिसभालाई तटस्थ, सन्तुलित र जनपक्षीयरुपमा कुशल नेतृत्व दिने विश्वास व्यक्त गर्नुभयो।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा जेल परेपछि करिब चार महिनामा प्रतिनिनिधिसभाले नयाँ सभामुख पाएको हो। उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले माघ ७ गते पदबाट राजिनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढेको थियो।

आज सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा उहाँलाई शपथ गराउने कार्यक्रम छ। प्रतिनिधिसभाको अर्काे बैठक यही माघ १४ गते दिउँसो १ बजे बस्नेछ।

‘स्वतन्त्र र इमान्दार
भएर भूमिका खेल्छु’

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम राख्ने बताउनुभएको छ। उहाँले जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवनिर्वाचित सभामुख सापकोटाले आफूलाई उम्मेदवार बनाउने नेकपा र सहयोग गर्ने कांग्रेस, राजपा, संघीय समाजवादी पार्टीलगायत सबैलाई धन्यवाद दिनुभयो।सर्वाेच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले कुनै प्रतिक्रिया दिनुभएन।

विश्वास जित्न नेताहरूको आग्रह

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना विषयमा भएका आलोचनालाई ध्यान दिएर संसद अगाडि बढाउन सापकोटालाई आग्रह गर्नुभयो। नेताहरूमा आलोचना सहने बानी नरहेको टिप्पणी गर्दै उहाँले सापकोटालाई आफ्नो योग्यता र क्षमता पुष्टि गर्ने समय आएको सुझाव दिनुभयो।

अर्का वरिष्ठ नेता झलनाथ खनालले सभामुख चयन भएपछि संसदमा नयाँ विधेयक पारित हुने र संविधान राम्ररी कार्यान्वयनको दिशातिर जाने विश्वास गर्नुभयो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले निष्पक्ष रुपमा सदन सञ्चालन गर्ने चुनौती आएको बताउनुभयो।

कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सभामुख चयन भएपछि ठीक ढंगले संसद सञ्चालन हुनेमा विश्वास व्यक्त गर्नुभयो।
राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदको नेता सर्वसम्मत हुनु राम्रो भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्