विभिन्न पुरस्कार घोषणा



न्युज अफ नेपाल, विराटनगर ।
विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले हरेक वर्ष समर्पण गर्दै आएका विभिन्न क्षेत्रका पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानको विराटनगरमा बसेको कार्यसमिति बैठकले साहित्य, संस्कृति, पत्रकारिता, समाजसेवा, कलालगायतका क्षेत्रका पुरस्कारको घोषणा गरेको हो । प्रतिष्ठानले १ लाख नगद राशिको ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’बाट प्रा.डा. टंकप्रसाद न्यौपानेलाई सम्मानित गर्ने भएको छ । समाजसेवी हरिभक्त सिटौला र परिवारद्वारा स्थापित सो पुरस्कार भाषा, साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई समर्पण गरिन्छ ।

त्यस्तै देवेनरा समूहले आफ्ना मातापिताको नाममा स्थापना गरेको ‘बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार’ प्रा.डा. जगमान गुरुङ (कास्की) लाई दिइनेछ । ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार समाजसेवी काशीनाथ जोशी (सप्तरी)लाई समर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीले बताउनुभयो । समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजुको स्मृतिमा सो पुरस्कार स्थापना गर्नुभएको हो । बैठकले समाजसेवी दिनेश सुवेदीले आफ्ना भाइको स्मृतिमा स्थापित ‘नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार’ अग्रज पत्रकार मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै साहित्यकार गंगा सुवेदीद्वारा आफ्ना मातापिताको नाममा स्थापना गरेको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ वरिष्ठ चित्रकार गोपाल श्रेष्ठ (पोखरा)लाई प्रदान गरिने भएको छ । चारवटै पुरस्कारको राशि ५१ हजार रहेको छ । सबै स्रष्टालाई नगदसहित सम्मानपत्र प्रदान गरिनेछ । प्रतिष्ठानले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष विशेष समारोहका बीच पुरस्कार समर्पण गर्दै आएको छ । काठमाडौंभन्दा बाहिर एउटै संस्थाले एकैपटक ३ लाख रूपैयाँ पुरस्कारबापत प्रदान गर्ने चेतना प्रतिष्ठान पहिलो संस्था भएको सुवेदीको दाबी छ ।

प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार ‘चेतना मासिक कार्यक्रम’, मकालु टेलिभिजनबाट ‘चेतना प्रवाह’ र ‘चेतना सन्देश’ त्रैमासिक पत्रिकासमेत प्रकाशित गर्दै आएको छ । घोषित सबै पुरस्कार यही माघ २५ गते शनिबार मोरङ व्यापार संघको हलमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्