प्रदेश २ को स्थायी राजधानी ‘जनकधपुरधाम’



न्युज अफ नेपाल, जनकपुरधाम ।

प्रदेश २ को स्थायी राजधानीबारे सहमति जुटेको छ भने प्रदेशको नामबारे सोमबार छलफल हुनेभएको छ । प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानी जनकधपुरधामलाई नै सहमति जुटाएको हो । यादवका अनुसार सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएकाले प्रदेशसभाबाट पारित हुनेछ ।
५ भदौमा दलहरुले प्रदेशको स्थायी राजधानीका लागि चार वटा फरक फरक प्रस्ताव दर्ता भएको छ । सत्तासिन समाजवादी र राजपाले संयुक्त रुपमा प्रस्ताव दर्ता गराउँदा राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमा सडक र धनुषाको उत्तरमा ढल्केबर पूर्वपश्चिम राजमार्गको पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सिमासम्मको भागलाई राजधानी तोक्न प्रस्ताव गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनकपुर परिक्रमा मार्गसहित धनुषा जिल्लालाई राजधानी बनाउन प्रस्ताव गर्दा नेपाली कांग्रेसले जनकपुर उपमहानगरपालिकाभित्र राख्नुपर्ने प्रस्ताव गरेको थियाे । यस्तै पर्साका प्रदेशसभा सदस्यहरुले भने वीरगञ्जलाई राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेशको नामबारे छलफल गर्न भोलि सोमबार बैठक बोलाइएको छ । बैठकमा प्रदेशको नाम प्रस्ताव गर्ने प्रस्तावक, समर्थक र संशोधनकर्तालाई बोलाएर छलफल गरिने सभामुख यादवले जानकारी दिए । सत्तारुढ समाजवादी–राजपाले संयुक्त रुपमा प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेका छन् भने नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने प्रस्ताव पेश गरेको छ । कांग्रेसका केहि सांसदले भने मध्य मधेशको नाम प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्