सरकारी एम्बुलेन्सबाट ३० किलो गाँजा



रोशन पराजुली,हेटौंडा।

गाँजाको उर्वर भूमि मानिएको मकवानपुरबाट भारततर्फ गाँजा, चरेश तथा अफिम निकासी हुने क्रम बढेको एक घटनाले थप पुष्टि गरेको छ । भारतीय नम्बरका सवारीसाधनमा गाँजाको ओसारपसार बढी हुने गरे पनि नेपाली एम्बुलेन्सका चालक नै यस्तो धन्दामा लागेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा लैजाँदै गरेको एम्बुलेन्स नियन्त्रणमा लिएपछि यस्तो तथ्य खुलेको छ । तराईका जिल्लाका एम्बुलेन्समा गाँजा ओसारपसार गरिएको पाइएपछि प्रहरी थप चनाखो भएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताउनुभयो ।

शनिबार साँझ करिब पौने ७ बजे हेटौंडा उपमहानगरपालिका–१९ स्थित इलाका प्रहरी कार्यालय नेवारपानीनजिक पूर्वपश्चिम लोकमार्गमा प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रनानि राजेशकुमार यादबको कमाण्डमा खटिएको चेकिङ टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा. २ झ १७४९ नम्बर सरकारी एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो ।

एम्बुलेन्समा रहेकाहरुलाई नियन्त्रणमा लिएर चेक गर्दा एम्बुलेन्समा लुकाइल्याइएका ३ वटा झोलाभित्र ६ वटा पोकामा गरी ३० किलो ६ सय ग्राम लागुऔषध गाँजा, नेपाली रुपियाँ ९१ हजार तथा भारतीय रुपियाँ २ हजार २ सय फेला परेको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स चालक रौतहट डुमरिया नपा–९ बस्ने वर्ष ३९ का मोहम्मद खलिद, एम्बुलेन्सका यात्री रौतहट डुमरिया नपा–४ बस्ने वर्ष १९ का अशोककुमार, भारतको बिहार मोतिहारी जिल्ला वसन्तपुर बस्ने वर्ष २२ का बिनोद सहनी पक्राउ परका छन् ।

गाँजा र एम्बुलेन्ससहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको छ ।उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना तथा सवारीसाधन जफत हुने कानुनी प्रावधान रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्