भाइरल रुघाखोकीका कारण हुम्लामा ५ जनाको मृत्यु, औषधी र स्वास्थ्यकर्मीको अभाव



न्युज अफ नेपाल, हुम्ला ।

जिल्लाको ग्रामीण क्षेत्रमा फैलिएको मौसमी रुघाखोकीले सर्वसाधरणहरू बिरामी पर्न थालेका छन् ।अत्याधिक चिसोका कारण फैलिएको सिजनल रुघाखोकीले गत पुष २७ देखि माघ १० गतेसम्म चंखेली र सर्केगाड गाउँपालिकामा ५ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सर्केगाड–३ उनापानीका ५५ वर्षीय रंगमल फडेराको मृत्यु भएको वडाअध्यक्ष गजबहदुर रावतले बताए ।

यसैगरी चंखेली–६ मेल्छामको मासिधाराका ३९ वर्षीया जुनकला शाही, ६० वर्षीया प्याउली शाही, ६५ वर्षीया गौरीकला सार्की र ७० वर्षीय जसुराम सार्कीको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष विमला शाहीले बताइन् ।

उपाध्यक्ष शाहीका अनुसार चिसोका कारण मौसमी रुघाखोकीले दम तथा अन्य दीर्घ रोग भएका बिरामीहरु बढी संक्रमित भएका छन् । मृत्यु हुनेहरू पनि सबैमा दम र अन्य दीर्घ रोगका बिरामी रहेको शाहीले बताइन् । मौसमी रुघाखोकी लागेका बिरामीहरुलाई रुघाखोकी, ज्वरो आउने र बेहोस भएर मृत्यु हुने लक्षण देखिएको उपाध्यक्ष शाहीले बताइन् ।

गाउँमा बिरामी नै बिरामी

गाउँपालिकाले दिएको औषधि सकिएपछि उनापानी गाउँमा सबै थला पर्न थालेका छन् । उपाध्यक्ष शाहीको अनुसार गाउँमा वृद्धवृद्धा बालबालिका गरी १ सय पचास जना बिरामी परेका छन् । समयमा यसको उपचार गर्न नसके यसले झन् ठूलो रुप लिने स्थानीय बताउछन् । गाउापालिका र सरोकार निकायाहरू समयामै उपचारमा लाग्नु पर्ने स्थानीयले आग्रह गरेका छन् ।

औषधि र स्वास्थ्यकर्मी  नै छैन

गाउँमा प्रकोप फैलिए पनि सम्बन्धित निकायलाई कुनै चासो छैन । स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइहरूमा सिटामोल समेत नपाएर ज्यान गुमाउनु परेकोमा दुःखीत छन । गाउँभरि बिरामीहरु बढेपनि स्वास्थ्य संस्था औषधि र स्वास्थ्यकर्मी दुवै नभएको स्थानीय बताउछन् । औषधि खरिदका लागि रकम बिनियोजित गरिन्छ तर औषधि आउँदैन । समयमा औषधि ल्याएको भए यो समस्या आउँदैन थियो,’ सर्केगाड–२ का गुरु कार्कीले भने ।

स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको छ । ‘हाम्रो गाउँमा मात्रै २७ पुसपछि ४ जनाको ज्यान गयो ,’ चंखेली–६ मासिधाराका हीराबहादुर शाहीले भने, ‘गाउँमा बिरामी नभएको घर भेट्न मुस्किल छ ।’ सर्वसाधरणहरू उपचारको लागि सुर्खेत झर्न थालेका छन् । गुरु कार्की पनि उपचारका आफु सुर्खेत झरेको र २, ३ दिनमा फर्कीने टेलिफोन बताए ।

औषधि र स्वास्थ्यकर्मी नभएको सरोकारवालाको दावी

सरोकारवालाहरू स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी दुवै अभाव नभएको बताउछन् । जिल्लामा सिजनल रुघाखोकी फैलेको खबर आउने बितिकै हुम्लाका सबै गाउँपालिकाले पालिकामा उपलब्ध औषधि सबै स्वास्थ्य संस्थामा पठाई आफ्नो मताहतका स्वास्थ्यकर्मीलाई सर्तक रहन सबै गाउँपालिकाले निर्देशन दिइसकेको निमित्त प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए ।

जिल्ला अस्पतालका अनुसार अहिले दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको संख्या बढ्ने हो भने उपचारका लागि औषधि र पूर्वाधारको समस्या देखिने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

गत वर्ष चैतमा हुम्लाको दक्षिणी भेगको ताजाकोटमा फैलिएको मौसमी रुघाखोकी वेलैमा नियन्त्रण नहुँदा ताजाकोट गाउँपालिकामा नौ जनाले ज्यान गुमाउनु परेको तियो

प्रदेश सरकारले औषधि र चिकित्सक पठायो

हुम्लामा फैलिएको मौषमी रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रणका लागि आइतबार कर्णाली प्रदेश सकार सामाजिक विकास मन्त्रालयले औषधि र चिकित्सक पठाएको छ ।

चंखेलीको मासिधारामा औषधिसहित चिकित्सकको टोली ल्याबका उपकरणसहित प्राविधिक टोली हिडि सकेको कर्णाली सरकार स्वास्थ्य निर्देशनालयका निर्देशक डा। रीता भण्डारीले बताइन् ।

जिल्लामा पर्याप्त औषधि भण्डारण रहेकाले अभाव नहुने उनको भनाई छ । अहिले गाउँपालिकाबाट औषधि सहितको स्वास्थ्यकको गाउँ पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्