प्रतिनिधिसभाले आज सभामुख पाउँदै



मधुसूदन रायमाझी, काठमाडौं ।

प्रतिनिधिसभाले आज सभामुख पाउने भएको छ । सभामुखमा यस अघि नै नेकपाको तर्फबाट अग्नी सापकोटा निर्विरोध भएपनि औपचारिक घोषणा आज हुने भएको हो । गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले सभामुख पाएसँगै संसदमा विचाराधिन विधेयक अगाडि बढने भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार, सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आज दिउँसो ३ बजे बैठक आह्वान गरिएको छ । ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै सापकोटाका प्रस्तावक र बोल्न समय दिनुहुने कार्यक्रम रहेको छ । प्रस्तावक र समर्थकले आफ्ना भनाइ राखेपछि ठाकुरले एकल उम्मेदवारी परेकाले सापकोटा सभामुखमा निवार्चित भएको घोषणा गर्नुहुनेभएको छ । सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै अर्को बैठक पनि बस्नेछ । दोस्रो बैठक नवनिवार्चित सभामुख सापकोटाले ले सञ्चालन गर्ने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागे लगत्तै कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा गत असोजदेखि सभामुखविहीन छ ।

सभामुख चयन सकिएलगत्तै अब उपसभामुखका लागि पनि निर्वाचन हुनेछ । शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख रिक्त छ । सभामुख र उपसभामुख फरक राजनीतिक दलबाट हुनुपर्ने प्रावधान भएकाले उपसभामुख भने नेकपाबाहेकका दलबाट चयन हुनेछ । उपसभामुखमा प्रमुख प्रतिपक्ष दल नेका र राजपाले दावी गरेका छन् ।

यो पनि पढ्नुहोस्

अग्नि सापकोटा विरूद्धको रिट न्यायाधीश फुयाँलले हेर्न नमिल्ने, आजै अर्को इजलास तोक्न रिट निवेदकको माग

प्रतिक्रिया दिनुहोस्