ओलम्पिकमा निर्णायक बन्ने योजनामा छुँ : खड्का



तेक्वान्दोका तीनै विधामा अन्तर्राष्ट्रिय निर्णायक बनेर अशोक खड्काले नेपाली खेल जगत्मा इतिहास रच्नुभएको छ। तेक्वान्दोका गेरोगी, पुम्से र पारा तीनै विधामा निर्णायक हुने खड्का पहिलो र एक मात्र नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ। विसं. २०५० देखि तेक्वान्दो खेलमा लागेका उहाँले लगभग २६ वर्ष यसै खेललाई समर्पण गर्नुभएको छ। तेक्वान्दोका पाँचौ डन ब्ल्याक बेल्टसमेत रहेका उहाँले सन् २०१३ मा कोरियाबाट अन्तर्राष्ट्रिय प्रशिक्षकको कोर्स (मास्टर्र्स) गर्नुभएको हो। उहाँले भविष्यमा ओलम्पिकमा पदक जित्ने खेलाडी जन्माउने अठोट गर्नुभएको छ। डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दोका निर्णायक उहाँसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानीको सारसंक्षेप:

तपाईं तेक्वान्दोमा कसरी लाग्नुभयो ?

मैले विसं. २०५० देखि तेक्वान्दो खेल्न शुरू गरेको थिएँ। म राष्ट्रिय टिममा छनोट भएपछि पढाइ छाडेँ। म नेपाली सेनाको सहायक सेनानीको जागिरमा छनोट भएको थिएँ।

म र विकास मल्लले (त्रिभुवन आर्मीका पूर्वगोलकिपर) सँगै थिएँ। तर अहिले विकासजी मेजर हुनुभएको छ। म चाहिँ तेक्वान्दोमा लागेको लागेकै भएँ।

त्यतिबेला मलाई तेक्वान्दो खेल यति मन पर्यो कि आफ्नो परिवारभन्दा पनि यसमा बढी लगाव हुन्छ म आफैं अचम्म छु। यतिसम्म कि मैले बाइक बेचेर समेत निर्णायकमा सहभागिता जनाएको थिएँ।

आफ्ना साथी मेजर हुँदा तपाईंलाई पछुतो लागेन त ?

म यो खेलमा लागेको अहिले २६ वर्ष भयो तर अहिले उपलब्धि देख्दा मलाई कुनै पछुतो छैन। केही समय भने मलाई डिप्रेसनमा पुर्याएको थियो, जब मेरो खुट्टा भाँच्चिएर अस्पतालमा भर्ना हुनुपर्दा।

श्रीलंकामा भएको १०औं दक्षिण एसियाली खेलकुदमा म छनोट भएको थिएँ। तर दुर्भाग्यवश प्रशिक्षणमा मेरो खुट्टा भाँच्चियो र सागमा खेल्ने धोको पुरा हुन सकेन पनि। आयशा, मनिताले पदक जितिरहँदा म त्यतिबेला अस्पतालमै थिएँ।

त्यतिबेला मलाई निकै तनाव भएको थियो। अनि मैले सोचे पनि मैले आर्मीको जागिर छाडेर खेलमा आएर पनि केही नपाउने भएँ भनेर। चोट पनि निकै गम्भीर थियो। त्यतिबेला म २३ वर्षको थिएँ। खुट्टाको शल्यक्रिया नै १४ चोटि गराउनुपरेको थियो।

१३ महिना म अस्पतालमा बस्नुपरेकोे थियो। यो निकै कष्टदायक क्षण थियो। त्यो बेला मिडियाले नै गरेर मेरो खुट्टा बचेको थियो। सरकारबाट पनि सहयोग नपाएको अवस्थामा मिडियाले मलाई निकै सहयोग गरेको थियो। मिडियाको दबाब भएपछि उपचार समिति गठन भयो र बल्ल मेरो उपचार भएको थियो।

चोटपछि आफूलाई तेक्वान्दोमै फेरि कसरी फिट बनाउनुभयो ?

अस्पतालको पलंगमा भए पनि मैले तेक्वान्दोलाई निरन्तरता दिएको थिएँ। खाली समयमा अस्पतालमै मेरा प्रशिक्षार्थीहरूलाई सिकाएर दिन बिताएको थिएँ।

मैले सो शल्यक्रियापछि गेरोगी (फाइट) विधा खेल्न छोडेको थिएँ।मैले फाइट गर्न नसक्ने भएपछि पुम्से (प्रदर्शन) मा मात्रै भाग लिन थालेँ। मैले अस्पतालबाट छुट्टी मिले लगत्तै धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएँ, त्यहाँ पुम्से विधामा मैले स्वर्ण जितेँ पनि।

कोरियन एम्बासेडर कपमा रजत पदक जितेँ। त्यसपछि अस्टे«लियन गोल्डकोस्ट ओपन, थाइल्यान्डमा भएको च्याम्पियनसिप तेस्रो हिरोज, कोरियामा भएको आठौं विश्व एक्सपोमा स्वर्ण पदक जितेँ। यसरी आफूलाई फिट गर्दै लगेँ।

तपाईंले तेक्वान्दोका लागि के–के गर्नुभयो ?

मैले डाँछीमा तेक्वान्दोकै पहिलो एकेडेमी खोलेँ। त्यहीबेला रक्षा नेपालमा मैले यौनहिंसामा परेका नानीहरूलाई ४ वर्ष निःशुल्क तेक्वान्दो सिकाएँ। त्यहाँबाट पनि राम्रा खेलाडी निस्के, एउटी खेलाडीले देशबाहिर स्वर्ण जित्न सफल पनि भइन्।

मैले मूलपानीको डोजाङबाट एसियन गेम खेल्ने खेलाडी पनि उत्पादन गरेँ। यादव गौतम भन्ने प्रशिक्षार्थीले ग्वान्जाउमा खेलेका थिए। सानैदेखि तेक्वान्दो खेलाएमा राम्रो हुने भएकाले उनीहरूलाई अहिले नयाँ प्रविधिअनुसार २०१५ देखि प्रशिक्षण दिन थालेको छु।

आफ्नै एकेडेमी खोल्नुमा तपार्इंको उद्देश्य के हो ?

मुख्य उद्देश्य भनेको नेपाली खेलाडीलाई ओलम्पिकमा पदक जिताउने हो। मेरो योजना १४ जना खेलाडी राखेर प्रशिक्षण दिने हो। फुटबलमा गरे जस्तै आवासको पनि व्यवस्था गर्ने हो।

तर फुटबलमा एउटा स्वर्ण आउने हो तर यहाँ १४ जना पालेमा थोरै स्रोतमा पनि धेरै पदक आउने हुन्छ। थालनीमा ४ जनालाई आवासमा राख्ने छु। अहिले नियमित ५३ जना प्रशिक्षार्थी छन्।

यीमध्ये राम्रा चार जनालाई आवाससहित व्यवस्था गरी सिकाउने हो। त्यहाँ बाहिरी देशमा स्वर्ण जितेका खेलाडी छन्। हालै सम्पन्न एभरेस्ट तेक्वान्दोमा हाम्रा तीन जना खेलाडीले स्वर्ण जितेका छन्।

सानो उमेरका यी खेलाडीलाई अबको ओलम्पिक (टोक्यो पछिका ओलम्पिक) मा पदक ल्याउन सक्ने गरी प्रशिक्षण दिने लक्ष्य लिएको छु। हाल दुई सिफ्ट बिहानबेलुकी प्रशिक्षण दिइरहेको छु।

तपाईं तीनै विधा (गेरोगी, पुम्से र पारा) का पहिलो अन्तर्राष्ट्रिय नेपाली निर्णायक बन्नुभयो। यतिका उपलब्धि कसरी हासिल गर्नुभयो?

पछिल्लो समयमा म निर्णायककै भूमिकामा रहेको छु। सन् २०१८ मा मुम्बईमा मैले गेरोगी र पुम्सेका परीक्षा एकैपटक पास गरेँ। योसँगै मैले यी दुबै विधामा पास गर्ने एक्लो नेपाली तेक्वान्दो निर्णायक बन्ने सौभाग्य प्राप्त गरेँ।

त्यही पुम्सेमा म उत्कृष्ट निर्णायक पनि घोषित भएँ। उत्कृष्ट हुने नेपाली तेक्वान्दोको इतिहासमा अहिलेसम्म म पहिलो नेपाली निर्णायक

हुँ। १३औं साग, जर्मन ओपन विश्व तेक्वान्दोमा उत्कृष्ट बनेँ। पाराको कोर्स अस्टे«लियामा सन् २०१८ मा पास गरेको हुँ। यसरी म तीनै विधामा निर्णायक बन्ने पहिलो नेपाली बन्न सफल भएँ।

तपाईंको करियरमा केही पश्चातापको कुरा छ कि ?

पहिले त १०औं साग खेल्न नपाएकोमा दुःखी थिएँ। तर अहिले आफ्नै देशमा भएको १३औं सागमा समेत मैले नखेलेर गल्ती गरेँ। यो मेरो लागि पश्चातापकै कुरा थियो। मैले गेरोगीमा नखेले पनि पुम्सेमा खेल्न सकिन्थ्यो।

३० वर्ष उमेर माथि मैले भाग लिएको भए नेपाललाई थप स्वर्ण पदक आउने थियो। म रेफ्री रेफ्री मात्रै भनेर हिँडे मैले खेल्नेमा कुनै विचार गरेन। कसैले पनि पहिले भनेनन् पछि मात्रै साथीहरू गुरुहरूले मलाई खेल्नुपर्ने भन्नुभएको थियो।

पहिला र अहिले नेपाली तेक्वान्दोमा तुलनात्मक रूपमा के फरक भएको छ ?

फरक त धेरै छ। पहिला खेल्दाखेरि निकै बलले खेलिन्थ्यो। त्यो बेला पावर गेम थियो। बेस्कन हानेपछि मात्रै अंक आउँथ्यो, रेफ्रीले अंक निर्धारण गर्ने गथ्र्यो।

तर अहिले प्रविधिको विकास भएकोले पहिलेजस्तो अंक दिइरहनुपर्दैन। सेन्सर राखिएको हुन्छ त्यहीअनुसार अंक पनि आफैं निर्धारण हुँदै जान्छ। सेन्सरकै कारण अहिले खेलाडीले जोडले हान्नु पनि पर्दैन, यसो हल्का छोए मात्रै पुग्छ।

१३औं सागपछि नेपालमा तेक्वान्दोले कतिको प्रगति गर्ने सम्भावना छ ?

वास्तवमा भन्ने हो भने पहिलेको तुलनामा हेर्दा नेपालमा तेक्वान्दो १३औं साग नहुन्जेल केही खस्केकै थियो। तर १३औं सागमा आएको नतिजाले केही हदसम्म नेपाली तेक्वान्दोले पिकअप लिएको देखेको छुँ । यसपटक सागको तेक्वान्दोमा पुम्से विधा पनि राखियो।

गेरोगीमा आठौं सागमा १४ वटा स्वर्ण पदक जितेको थियो। अहिले गेरोगीमा नेपालले ५ वटा स्वर्ण पदक जितेको छ। आठौं सागपछि घट्ने क्रम थियो तर १३औं सागमा तेक्वान्दोले प्रगति गरेको प्रष्ट देखाएको छ। दक्षिण एसियालीको क्षेत्रीय प्रशिक्षण केन्द्र नेपालमै रहेको छ।

अहिले पहिलेको दाँजोमा तेक्वान्दोको प्रशिक्षण नियमित भइरहेको छ। पहिले सिजनलको हिसाबले हुन्थ्यो, अहिले त्यस्तो छैन। प्रशिक्षकको पनि माग भइरहेको छ।

अहिले विभागीय (पुलिस, आर्मी, सशस्त्र) ले पनि खेलाडी लिने चलन आएको छ। मलाई आशा छ कि नेपाली तेक्वान्दोले भविष्यमा एसियन गेम्समा स्वर्ण पदक र ओलम्पिकमा कम्तीमा पनि कांश्यपदक जित्ने सम्भावना बन्नेछ।

तेक्वान्दोप्रति राज्यको भूमिका कस्तो हुनुपर्छ ?

१३औं सागमा नतिजा राम्रो आएपछि राज्यले तेक्वान्दोलाई हेर्ने दृष्टिकोण पनि फरक भएको छ। अहिले राज्यले यस खेललाई प्राथमिकतामा राखेको छ। अर्को मुख्य कुरा भनेको खेलाडीलाई खेलेर पनि बाँच्न सक्छ है भन्ने सन्देश पनि आइसकेको छ।

मैले खेल्दाखेरि स्कूलमा पढाउँथेँ, तेक्वान्दो सिकाउँथे। म राष्ट्रिय टिममा आउँदा सबै छाडेर आएको थिएँ। दैनिक भत्ताको रूपमा ५० रुपियाँ पाउँथंँे। महिनामा २५/३० हजार कमाउँथेँ तर मैले राष्ट्रको लागि त्यो पनि छाडेँ।

त्यो बेला स्थिति त्यस्तो थियो। १३औं सागमा पदक जित्ने शीर्ष तीनलाई क्रमशः ९ लाख, ६ लाख र ३ लाख दिने घोषणा भएको छ। यस्तो प्रोत्साहनले गर्दा तेक्वान्दो राम्रै भइरहेको देखेको छु।

अहिले तपाईं के गरिरहनुभएको छ ?

अहिले मेरो डाँछीमा रहेको नेप्लिज तेक्वान्दो एकेडेमीमा स–साना भाइबहिनीलाई तेक्वान्दो सिकाउँछु। मूलपानी तेक्वान्दो डोजाङमा विसं. २०५५ देखि अहिलेसम्म प्र्रशिक्षकका रूपमा कार्यरत छु। २ सय जनाभन्दा बढी खेलाडीले यहीबाट ब्ल्याकबेल्ट लिइसकेका छन्।

अरू चाहिँ बाल गीताञ्जली स्कूल, शिक्षान्तर स्कूलमा प्रशिक्षकमा काम गरिरहेको छु। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिका निर्वाह गरिरहेको छु। कैदीहरूको बालबच्चालाई प्रिजनल एसिस्टेन्ट साँखुमा बिहानबिहान सिकाइरहेको छु। बेलाबेलामा सामाजिक कार्य पनि गरिरहेको छु।

तपाईं भविष्यमा के गर्ने योजनामा हुनुहुन्छ ?

तेक्वान्दोमा पाउनुपर्ने सबै उपलब्धि मैले २३/२४ वर्षको दौरान प्राप्त गरेको छु जस्तो लाग्छ। मेरो सम्पूर्ण चीज नै तेक्वान्दो हो। मैले आफ्नो धर्म र कर्म सबै तेक्वान्दोलाई नै मानेर खेलको माध्यमबाट देशलाई केही गर्छु भनेर लागेको छु।

ओलम्पिकमा खेल्ने इच्छा थियो तर त्यो इच्छा अब आफूले सिकाएको खेलाडीबाट पूरा गर्ने प्रयासमा छु। निर्णायक भूमिकालाई निरन्तरता दिइने हो।

यसैगरी ओलम्पिकमा खेल्ने इच्छा पूरा नभए पनि ओलम्पिकमा निर्णायक बनेर खेलाउने योजनामा छु। म चाँडै नै दोस्रो श्रेणीको निर्णायक बन्दै छु।

प्रतिक्रिया दिनुहोस्