डिजिटल पेमेन्ट सिस्टममा जाँदै भन्सार



काठमाडौं, (नेस)।

आगामी वर्षदेखि भन्सार विभाग डिजिटल पेमेन्ट सिस्टममा जाने भएको छ। विभागका महानिर्देशक सुमन दाहालले प्रविधिको उच्चतम् प्रयोग गरी भन्सार विभागलाई आगामी दुई वर्षभित्रै ‘क्यासलेस’ कारोबार गर्ने र पेपरलेस बनाइने बताउनुभएको हो।

विभिन्न भन्सार कार्यालयको अनुगमनसमेत केन्द्रीय कार्यालयबाटै गर्न सक्ने प्रविधिको विकास गरिसकेको भन्दै उहाँले भन्सारमा हुन सक्ने अनियमिततालाई समेत प्रविधिको उपयोग गरी कम गरिरहेको दाबीसमेत गर्नुभयो।

भन्सार विभागले जोखिम व्यवस्थापन तथा राजस्व संकलनका लागि भन्सार घोषणा, जाँचपास र राजस्व संकलन स्वचालित प्रणाली ‘आशिकुडा वल्र्ड’ मार्फत् गर्दै आएको छ। योसँगै ‘पोस्ट क्लियरेन्स अडिट’ लाई पनि प्रभावकारी बनाएको विभागले जनाएको छ।

यस्तै विभागले भन्सार बिन्दुमा पूर्वाधार निर्माण गर्ने तथा जाँचपासमा प्रविधिको प्रयोग बढाउने तथा सीमा क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रण गर्नेजस्ता कार्यलाई पनि चुस्तरुपमा अघि बढाएको पनि जनाएको छ।

यसैगरी राजस्व सचिव शिशिर कुमार ढुंगानाले आगामी वर्षदेखि भन्सारमा डिजिटल पेमेन्ट सिस्टम प्रणाली लागू गर्ने जानकारी दिनुभयो। उहाँले आगामी आर्थिक वर्षदेखि सम्पूर्ण कारोबारलाई डिजिटल प्रणालीमा लैजाने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्