कार्यक्षेत्र मिल्ने बैंक मर्जरमा जानुपर्छ : अर्थमन्त्री



नेपाल समाचारपत्र, काठमाडौं।

अर्थमन्त्री डा. युवराज खतिवडाले कामको प्रकृति मिल्ने बैंकहरू मर्जरमा जानुपर्ने बताउनुभएको छ। राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिक उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले घराना मिल्ने तथा एकै प्रकृतिका कारोबार गर्ने बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान आग्रह गर्नुभएको हो।

उहाँले बैंक तथा वित्तीय क्षेत्रले कर्जा बढाउनुभन्दा गुणस्तरीय सेवा प्रवाह गर्न जोड दिनुपर्ने बताउँदै भन्नुभयो–‘कर्जाको आकारमात्रै होइन, यसको गुणस्तर वृद्धिमा पनि सक्रिय भएर लाग्नुहोस्।’

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्तालाई कर छुटको सीमा बढाउन लागेको भन्दै उहाँले सामाजिक सुरक्षा कोषमा बचत गर्ने योगदानकर्तालाई दोहोरो कर नलाग्ने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो।

उहाँले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको साधारण शेयरको प्राथमिक निष्काशन हुन सक्ने बताउनुभयो। उहाँले साधारण शेयर बिक्री हुन सक्नेतर्फ संकेत गर्नु भए पनि त्यससम्बन्धी प्रक्रियाका बारेमा हाल छलफलमात्रै भइरहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो–‘पुँजीका हिसाबले साधारण शेयर बिक्री गर्नुपर्ने अवस्था भने छैन। तर, कम्पनी ऐनअनुसार सबैलाई समान व्यवहार गर्नुपर्ने भएकाले वाणिज्य बैंक पनि त्यसमा आउनै पर्छ।’

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपालको आर्थिक विकासमा राष्ट्रिय वाणिज्य बैंकले खेलेको भूमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकको तुलनामा अग्रणी रहेको बताउनुभयो।

बैंकका सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्दति र सेवाको गुणस्तरमा सुधार भएको बताउनुभयो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनुभयो। उहाँले पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपियाँ कर्जा लगानी गरेको बताउनुभयो।

बैैंकले यस अवधिमा खुद मुनाफा २ अर्ब ५ करोड रुपियाँ गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो। उहाँले आर्थिक वर्ष २०७६/०७७ लाई ‘क्लिन एन्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेसन’ भन्ने अभियान सञ्चालन गरी फिजीकल र फाइनान्सियल स्मार्टनेसको लक्ष्यसहित विभिन्न प्रकारका काम गरिरहेको जानकारी गराउनुभयो।

सातै प्रदेशका ७७ वटै जिल्ला बैंकका २ सय ३८ वटा शाखा कार्यालय, २ सय ५ वटा एटीएम, २८ स्थानमा एक्सटेन्सन काउन्टर, ९३ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्