व्यक्तिको ज्यान र टुरिस्ट बसको खाँचो



अहिले मुलुकमा दुई तिहाइको सरकार आएको छ। यसलाई ‘नहुने मामाभन्दा काना मामासरह ठीक’ नै मान्नुपर्दछ, कारण जतिसुकै आफ्नो हातमा डाडु–पन्यूँ भने पनि, गुटबन्दी भने पनि, आफ्नो मान्छेको राज भने पनि प्रतिपक्षहरू त यति पनि काविल भएनन्, किनकि प्रतिपक्षहरू आफ्नो शासनकालमा केही गर्दैनन् तर सत्ताबाट बाहिरिएपछि रिस, डाहबाहेक अरू केही गर्दैनन्।

अन्यथा, जनताका सानातिना समस्याको समाधान हुन्थे होला। यसबाहेक प्रतिपक्षहरूको आ–आफ्नै अवगुणहरू छन्, जसले गर्दा अहिलेको एकपक्ष राजलाई सहनु हाम्रो बाध्यता भएको छ।

यो सरकारको बोलीलाई छोडी कछुवा चालको विकास भए तापनि यसलाई खराब भन्न मिल्दैन तर राज्यले ठूलो पूर्वाधारको सोच राखे पनि सानो मन, झमेला नीति, फितलो कार्यान्वयनले गर्दा प्रायः नागरिक देशको हालतलाई हेर्दा केही अझै पनि उकुसमुकुस भएको आभास हुन्छ।

यो चाहिँ केले गर्दा हो, अहंकार हो, शिक्षाको कमी हो वा सरकारमा धेरै बुद्धिजीवी भएर हो ? यो कुरा भने बुझ्न गाह्रो भएको छ। अहिलेको अवस्थामा राज्यले सोच्नुपर्ने कुराहरू महँगी र सुरक्षाबाहेक, फोहोर सडक तथा राजमार्गहरूको समस्याको समाधान गर्नु हो।

यसै सन्दर्भमा कुरा गर्दा अहिले राजमार्गको कुरा गर्ने हो भने प्रायः सवारीहरू दुर्घटना भएर मानिसको ज्यान गइराखेको हामीले पाइराखेका छौं तर राज्यलाई मतलब छैन, सिवाय विलासिता र आफ्नो स्वार्थबाहेक।

वास्तवमा भन्ने हो भने अहिलेको परिप्रेक्ष्यमा नेपालको कुनाकाप्चासहित सबै क्षत्रमा टुरिष्ट बस राख्नुपर्ने भइसकेको छ। अनि मात्र यात्रुहरू ढुक्कसाथ एक गन्तव्यबाट अर्को गन्तव्यमा जान सक्ने आशा राख्न सकिन्छ।

अन्यथा, सधैँ डराई–डराई यात्रा गर्नुपर्ने बाध्यता आउनेछ। अहिले सो समस्याको लागि सरकार तथा सम्बन्धित निकाय गम्भीर हुनु आवश्यक छ। अन्यथा, दिनहुँजसो दुर्घटनाले गर्दा मानिसको ज्यान गइराख्न सक्छ।

सरकारले हरसमय एयरपोर्ट, रेल, फास्ट ट्रयाकजस्ता पूर्वाधार विकासका लागि अर्बौं रुपियाँ खर्चेको पाइन्छ। यस्ता सरकारको सोच र कार्यलाई नराम्रो भन्न मिल्दैन तर यसका साथै नागरिकलाई चाहिने राजमार्गहरूलाई चौडा गर्ने, राजमार्गका मोडहरूमा बारहरू राख्ने, स्पिड ब्रेकर ठाउँ–ठाउँमा राख्ने, ट्राफिक प्रहरीद्वारा सवारीहरू कन्डिसन चेक गर्ने, सिकारु ड्राइभरलाई कडा गर्ने अथवा प्रत्येक बसमा दुईजना ड्राइभर अनिवार्य राखेर मात्र चलाउन दिने, राजमार्गका खाल्डाखुल्डी निरन्तर मर्मत गर्ने, स्पिड कन्ट्रोल बोर्ड राख्ने तथा अटेर गर्नेलाई कडा कारबाही तथा जरिबाना अनिवार्य गर्न जरुरी छ।

तर यस्ता कुरामा सरकार तथा सम्बन्धित निकायले ध्यान दिइएको पाइँदैन। यो एउटा आश्चर्य लाग्दो एवं दुःख लाग्दो कुरा हो। राजमार्गहरूको समस्याको कुरा गर्दा सवारी बिग्रिएको खण्डमा मर्मतका लागि टेलिफोन सेवाको कमी छ, त्यसकारण ठाउँमा टेलिफोन सेवा हुनु पनि अति जरुरी छ।

प्रायः पैसाको लोभले ड्राइभर तथा खलासीले भेडाबाख्रा कोचेझैँ बसमा यात्रु कोचेर लगिराखेका हुन्छन्। प्रायः राजमार्गमा सवारी दुर्घटना हुने एउटा मुख्य कारण यो पनि हो।

यस्तो अवस्थामा ड्राइभरलाई सजाय र जरिबानामा कडाइ गर्नु राज्यको कर्तव्य हो, जुन गरेको देखिँदैन। राजमार्गको समस्याको कुरा गर्दा लगातार वर्षातको समयमा गाडी चलाउन नदिन सरकारले प्रतिबन्ध लगाउन जरुरी छ, जसले गर्दा गाडी चिप्लिएर दुर्घटनाबाट बच्न सकिन्छ।

कुनै पनि ड्राइभरले ओभरटेक गरेर सवारी चलाउँदा पनि कडाइ गर्नुका साथै लाइसेन्स खारेज गर्नुपर्दछ। अन्त्यमा एकपल्ट फेरि भन्नुपर्दा यी सब समस्याको हल सरकारले हरेक क्षेत्रमा टुरिस्ट बसलाई सञ्चालन गरेर देखाउन सक्नुपर्दछ। अन्यथा मानिसको ज्यान कहिले जाने हो भन्ने त्रासमा जिन्दगी बितिराखेको हुन्छ।

– रमेशकेशरी वैद्य,
छत्रपाटी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्