मन जित्ने क्यारेक्टरको पर्खाइमा छु



प्रमोद अग्रहरी

अभिनेता

पात्रअनुसार आफूलाई ढाल्न माहिर अभिनेता प्रमोद अग्रहरी जुन पात्रमा अभिनय गर्छन्, त्यसलाई जीवन्तता दिन्छन्। रंगमञ्चबाट फिल्म क्षेत्रमा पाइला हालेका प्रमोद टेलिफिल्म सिंहदरबारमा मन्त्रीको भूमिकामा खेलेपछि सानो पर्दाको पनि चर्चित अनुहार बने। फिल्म उमाबाट अभिनय फिल्म क्षेत्रमा होमिएका प्रमोद ग्याङस्टार ब्लुज, गुडबाई काठमाडौं, चंखे शंखे पंखे, संरक्षण, छक्का पञ्जा, जाइरालगायतका एकपछि अर्को फिल्ममार्फत नेपाली दर्शकको मनमा बस्न सफल छन्। उनै प्रमोदसँग नेपाल समाचारपत्रका लागि संवाददाता रश्मी थापाले गरेको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दैै हुनुहुन्छ ?

अहिले मनोज पण्डित निर्देशित फिल्म एकको काम भइरहेको छ। सायद यही चैततिर रिलिज हुन्छ कि?

हालै सम्पन्न कामना फिल्म अवार्डमा खलपात्रको अवार्ड जित्दा कस्तो महसुस गर्नुभयो ?

त्यो मेरा लागि अमेजिङ क्षण थियो। अवार्ड हात पार्दा आफूले गरेको काम रिकगनाइज भएजस्तो लाग्यो। मैले अवार्ड जित्छु भन्ने सोचेको थिइनँ।

त्यस कारण अवार्ड होल्ड गर्न पनि मलाई भारी भइरहेको थियो।फिल्म क्षेत्रमा लागेको ७/८ वर्ष भए पनि अबचाहिँ शुरुआत भयो। अब धेरै गर्नुछ भन्ने अनुभव भयो।

उक्त अवार्ड मदनकृष्ण श्रेष्ठ दाइ, टीका पहारीजस्ता व्यक्तित्वहरूको हातबाट ग्रहण गर्दा आफूलाई निकै भाग्यमानी ठानें। यस्तो खालको सम्मानले मलाई थप इन्करेज भएको छ।

फिल्म कथा काठमाडौंमा अभिनय गरेपछि तपार्इंको चर्चा त चुलियो, त्यसबाट फाइदा–बेफाइदा चाहिँ के भयो ?

बेफाइदा भन्ने त हुँदैन, फिल्मबाट मलाई फाइदा भएको छ। धेरै फिल्ममा धेरै प्रकारका क्यारेक्टर भए।

तर, प्रमोद अग्रहरी भनेर त्यति चिन्नु हुन्थेन, कथा काठमाडांैपछि भने बाटोमा हिँड्दा पनि मानिसहरूले चिन्नुभएको छ। सबै फिल्मबाट करिअरका लागि फाइदा नै हुन्छ। कथा काठमाडौंबाट पनि प्लस प्वाइन्ट भयो।

प्रायः फिल्ममा मधेसी पात्र र खलपात्रका रूपमा देखिनुहुन्छ। तपाईंको रुचि हो कि यस्तै खालका अफर आउने हुन् ?

वास्तवमा अफर नै त्यस्तो आइरहेको पनि हो। कलाकार भएपछि आएको कुरा चित्त बुझ्यो भने गर्ने हो कुरेर मात्र हुँदैन काम पनि गर्नुपर्छ।

फिल्म जाइराको सुरजको क्यारेक्टर पनि फरक छ। फरक खालका क्यारेक्टर कुरेर बसिरहेको छु। दर्शकको मन जित्ने क्यारेक्टरको पर्खाइमा छु।

धेरै पात्रमा आफूलाई उतारिसक्नुभएको छ, अब कस्ता खालको रोलमा अभिनय गेर्ने विचार छ ?

कुनै पनि कलाकारले म यस्तो खालको रोल गर्छु भन्नु भनेको आफूलाई परिधिभित्र बन्द गर्नु हो जस्तो लाग्छ। सिर्जना भनेको विद्रोह गरेर हुने चिज हो।

आफूले सोचेको भन्दा फरक जस्तो पनि क्यारेक्टर सिर्जना हुन सक्छ। कलाकार भएपछि भिखारीदेखि राजासम्मको क्यारेक्टर गर्नुपर्छ। समाजमा धेरै पात्र हुन्छन्, म समाजमै रहेका पात्रमा रमाउँछु।

आफूलाई मन परेको क्यारेक्टर ?

यो गाह्रो प्रश्न हो। कलाकारले मन परेपछि मात्र कुनै पनि पात्रमा अभिनय गर्छन् जस्तो लाग्छ। मैले काम गरेका सबै फिल्ममा आफ्नो चरित्र मन परेकैले काम गरेको हो।

पहिलो फिल्म उमा, ग्याङस्टार ब्लुजजस्ता फिल्ममा गरेको क्यारेक्टरहरू दर्शकले मन पराउनुभएको छ। छक्का पञ्जामा गरेको बाबाको क्यारेक्टरलाई धेरैले रुचाउनुभयो। सबै पात्र एकसे एक छन्। सबै पात्रले माया पाएको छ, यही भनेर छान्न गाह्रो छ।

प्रमोद अग्रहरी बन्नका लागि के–कस्तो संघर्ष गर्नुभयो ?

संघर्ष त बाँकी नै छ। मैले प्रमोद अग्रहरी भनेर नाम राख्न सक्नु आफैंमा ठूलो कुरा हो। मसँग धेरै भागाइ छन्। मलाई त्यो भोक निन्द्रा र तीर्खाको अनुभव छ।

भुइँमा सुतेको अनुभव छ भने डलपमा पनि सुतेकै छु। आफूलाई प्र्रमोद अग्रहरी भनेर उभ्याउनु मेरा लागि मजाक होइन।

रंगमञ्च र फिल्म क्षेत्रमा कुनमा काम गर्दा आनन्द महसुस हुन्छ ?

फिल्म र थिएटरमा काम एउटै हुन् मिडियम मात्र फरक हो। दुवैमा काम गर्दा उत्तिकै आनन्द महसुस हुन्छ। थिएटरबाट मैले धेरै कुरा सिकें।

फिल्म क्षेत्रमा पढेर आउनुमा फरक भई नै हाल्छ। थिएटरबाट मैले डिसिप्लेन, अरूलाई गर्नुपर्ने सम्मान आदि कुरा सिकें। सायद म थिएटर नभएको भए फिल्ममा आउँदिनथें कि !

फिल्म क्षेत्रमा लागेको ७/८ वर्षमा कला क्षेत्रलाई कसरी बुझ्नु भएको छ ?

कडा मेहनत गर, मेहनतबिना यहाँ केही हुनेवाला छैन भन्ने कुरा फिल्म क्षेत्रमा आएपछि सिकें। अभिनय भनेको त्यस्तो चिज हो, जुन बाचुन्जेल पनि सिकेर सकिँदैन रहेछ। मैले फिल्म क्षेत्रलाई धेरै बुझ्न बाँकी छ।

कलाकारहरूमा पनि ग्रुपिजम छ, तपाईंले के महसुस गर्नुभएको छ ?

ग्रुपिजमको कुरा सुनिन्छ तर यसबारे एक्ज्याक्ट केही भन्न सक्दिनँ। मानिसको आ–आफ्नो विचार हुन्छन्।

मैले पनि फरक–फरक विचार भएको निर्देशकसँग काम गरें। जसरी भए पनि कामै गर्ने हो। जसलाई जसरी सजिलो हुन्छ, त्यसरी नै काम गर्ने त हो।

तस्वीरहरू : रंगराज आचार्य

प्रतिक्रिया दिनुहोस्