आफ्नै श्रीमतीलाई जिउँदै जलाउने श्रीमान पक्राउ



न्युज अफ नेपाल, सिरहा ।

आफ्नै श्रीमतीलाई जिउँदै जलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका ५ औरही नवटोली बस्दै आएका विनोद यादव रहेका छन् ।

यादवकी श्रीमती २७ वर्षिया अनिता कुमारी यादव शुक्रवार राति ७ बजे आफ्नै घरमा खाना पकाइरहेको बेला एक्कासी शरीरमा आगो लागेर घाइते भएकी थिइन् । आगलागीबाट गम्भीर घाइते अनितालाई बिनोदले नै उपचारका लागि विराटनगर लगेका थिए । अनिताको अवस्था गम्भीर भएपछि उपचारको लागि काठमाडौें पठाइएको प्रहरीले जनाएको छ ।

घटना भएको ठाउँमा मट्टितेलको बोतल भेटिएकाले घटना शंकास्पद भएको प्रहरीले बताएको छ । अनिताका श्रीमानलाई मोरङ प्रहरीले नियन्त्रणमा लिई सिरहा ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बिनोद वैदेशिक रोजगारीबाट करिव ३ महिना अघिमात्र फर्किएका थिए । पछिल्लो समय उनीहरुबीच सम्बन्ध राम्रो नरहेको स्थानीयले बताएका छन् ।

घटनाको बारेमा थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्