गुरुङ्गका छोराले महाभारत र रामायणको प्रवचन गर्नेः अध्यक्ष तिमिल्सिना



दुर्गाप्रसाद शर्मा, पर्वत ।
महाभारत, रामायणदेखि भागवतको प्रवचन प्राय बाह्मण समुदायकै पण्डितहरुले गर्दै आएका छन । सप्ताह पुराण र महायज्ञहरुमा भावगत, रामयण, महाभारतका कथाहरु मिठोस्वर मिलाईर प्रवचन सुन्न बढी बृद्धहरु र महिलाहरु पुग्छन ।

तर पर्वतको कुस्मामा भएको एउटा कार्यक्रम भने फरक देखियो । पर्वत जेसिजले आयोजना गरेको कार्यक्रममा गुरुङ्ग समुदायका तीन जना युवा र युवतीले रामायण र महाभारतको चर्चा गर्नुभयो भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, संबिधानसभाका सदस्य अर्जुनप्रसाद जोशी सहितका बिशिष्ठ पाहुना र बिद्यार्थी तल बसेर सुनिरहनुभएको थियो ।

पर्वतको कुस्माबजारको युनिर्भसल पार्टी प्यालेसको हल खचाखच भरिएको थियो । कुस्माबजार भित्र उच्च माध्यामिक तह देखि स्नातक अध्ययनरत बिद्यार्थीहरुका बिचमा अन्तिम गुरुङ्ग, दिया गुरुङ्ग र निशा गुरुङ्गले महाभारत र रामायणका जीवन उपयोगी शिक्षाका बारेमा प्रवचन दिनुभयो ।

मानिस सफल हुनका लागि महाभारत र रामायणका पात्रको भूमिका र त्यसले हाम्रो जीवनमा पार्ने प्रभावका बारेमा जानकारी गराउनुभएको थियो । रामायण र महाभारतका श्लोक लय मिलाएर भन्ने काम हुँदै आएपनि त्यसले मानिसको जीवनमा परिर्वतनका लागि दिने शिक्षाका बारेमा प्रवचन भएकोले उपस्थित भएका सबै जना प्रभावित भएका थिए । वाककलामा निपुर्ण अन्तिम गुरुङ्ग पर्वतकै कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्गका बासिन्दा हुनुहन्छ । उहाँले वक्तृत्वकलाका राष्ट्रिय प्रतिष्पर्धा पनि जित्नुभएको छ ।

रामायण र महाभारतको शिक्षा दिएको सुनेरै बस्नुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ब्राह्मण समुदायले मात्रै प्रवचन भन्ने चलनको अन्त्य गर्दै रामायण र महाभारतको नौनी दिने काम गरेको भनेर गुरुङ्गको प्रशंसा पनि गर्नुभयो । ‘रामायण र महाभारत श्लोक मिलाएर सबैले सुनेका छौ’ उहाँले भन्नुभयो ‘एउटा गुरुङ्गको छोराले रामायण र महाभारतको नौनी निकालेर हामीलाई दिनुभयो ’ उहाँले अभाबका बिचमा पनि निरन्तर संघर्ष गरेमा लक्ष्य भेट्न सकिन्छ भन्ने बिश्वास सबैले लिनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा संबिधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले जोखिम बहन गर्न सक्नेले सफलता प्राप्त गर्न सक्ने बताउँदै राजनिती गर्नेहरुका लागि महाभारत र रामायणका कथाहरुले प्रेरणा दिने बताउनुभयो । पर्वत जेसिजका संस्थापक अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले पनि महाभारत र रामायणका बारेमा यति राम्रो प्रवचन दिएकोमा प्रशंसा गर्नुभ्यो ।

कार्यक्रममा गुप्तेश्वर र शिबालय बहुमुखी क्याम्पसका स्नातक तहमा अध्ययन गर्ने बिद्यार्थी तथा नारायण माबि, शिबालय माबि, नमुना आवासिय माबि र गुरुकुल आवासिय माबिमा उच्च माध्यामिक तहमा अध्ययन गर्ने बिद्यार्थीको सहभागिता रहेको पर्वत जेसिजका अध्यक्ष रामु शर्माले जानकारी दिनुभयो । बिद्यार्थीहरुलाई उत्प्रेरणा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ।

प्रतिक्रिया दिनुहोस्