सेरेना २४औं ग्रान्डस्लामको खोजीमै



मेलबर्न, (एजेन्सी) ।

सेरेना विलियम्स अस्टे«लियन ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणबाटै बाहिरिएकी छन् । २४ ग्रान्डस्लामको खोजीमा रहेकी सेरेना मेलबर्नमा भएको प्रतियोगिताबाट छिटै बाहिरिएकी यो १४ वर्षमा पहिलो पटक पनि हो । ३८ वर्षीया सेरेनाले आफुलाई बुढी भएको भनेपनि खेलबाट संन्यास लिन भने कुनै संकेत नगरेकी बताइन् ।

सेरेनाको २४औं ग्रान्डस्लाम जित्ने आशालाई चीनकी २७औं वरियताकी वांग किआङले ६–४, ६–७, ७–५ को तीन सेटमासमाप्त पारेकी हुन् । गत युएस ओपन क्वार्टरफाइनलमा ४४ मिनेटमा सेरेनासँग ६–१, ६–० ले हारेकी वाङले यसपटक बदला लिएकी छन् । सेरेना भने मार्गारेट कोर्टको २४ किर्तिमान ग्रान्डस्लाम उपाधि बराबरी गर्ने अभियानमा रहेकी थिइन् ।

यसैगरी महिला सिंगल्सतर्फ शीर्ष १० भित्रका अन्य चार खेलाडी पनि तेस्रो चरणबाट बाहिरिएका छन् । आठौं वरियताकी सेरेना हारेसँगै उपाधि दावेदारी तथा डिफेन्डिङ च्याम्पियन नाओमी ओसाकाले पनि मेलबर्नबाट विदा लिएकी छन् । दोस्रो वरियताकीकारोलीना पीलीस्कोभा, पाँचौं वरियताकी एलीना स्वीटोलीना र दशौं वरियताकी अमेरिकाकी मेडिसन कीज पराजित भएका छन् ।

चेक खेलाडी पीलीस्कोभा रुसकी एनास्टासिया पाव्ल्यूचेन्कोभासँग ७–६, ७–६ ले पराजित हुँदायुक्रेनकी स्वीटोलीनालाई दुई पटककी ग्रान्डस्लाम विजेता स्पेनकी गार्बिन मुगुरुजाले ६–१, ६–२ ले पन्छाएकी हुन् ।तेस्रो वरियताकी जापानकी ओसाकालाई १५ वर्षीया अमेरिकी खेलाडी कोको गौफले मात्र ६७ मिनेटमा स्तब्ध तुल्याइन् । अर्की अमेरिकी खेलाडी १०औं वरियता प्राप्त मेडिसन कीज पनि तेस्रो चरणमा पराजित भएकी छन् ।

अन्य शीर्ष खेलाडीले भने चौथो चरणमा स्थान सुरक्षित गरेका छन् । विम्बल्डन च्याम्पियन र चौथो वरियताकी सिमोना हालेपले काजाकस्तानकी युलिया पुटीन्टसेभालाई ६–१, ६–४ ले पराजित गरिन् । त्यस्तै विश्व नम्बर एक एश्लेग बार्टी चौथो चरणमा पुगेकी छन् । अस्टे«लियन खेलाडीले एलेन रायबाकिनालाई हराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्