कांग्रेसको विवाद मिल्यो: सोमबार केन्द्रिय समिति बैठक बस्दै



रामकृष्ण चापागाईं, काठमाडौं ।

लामो समयदेखि आन्तरीक विवादमा रुमल्लिरहेको प्रमुख प्रतिपक्षदल नेपाली काग्रेसका शीर्ष नेतावीच भागवण्डामा सहमति भएपछि सोमबार केन्द्रिय समिति बैठक बस्ने भएको छ ।

गुट उपगुटमा विभाजित काग्रेस भित्र आन्तरीक भागवण्डा नमिल्दा एकपक्षले लगातार केन्द्रिय समिति बैठक बहिस्कार गर्दै आएका थिए । महाधिवेशनमा नेतृत्व हत्याउने जोड घटाउमा लागेका शीर्ष नेतावीच सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा भएको सहमति पछि सोमबार केन्द्रिय समिति बैठक आव्हान गरिएको हो ।

यस अघि सभापति देउवा पक्ष इतरका नेताहरु केन्द्रिय समिति बैठकमा अनुपस्थित भएपछि महाधिवेशन गर्ने जस्तो महत्वपुर्ण निर्णय समेत बहुमतको आधारमा गरिएको थियो । महाधिवेशनको कार्यतालिका सार्वजनीक भैसकेपनि भोली बस्ने बैठकमा पुन छलफल हुने बताइएको छ । साथै बैठकमा म्याद गुज्रिसकेको नेविसंघ, तरुणदल लगाएत भातृसंस्थाहरुको बारेमा पनि छलफल हुने छ ।

शुक्रवार सभापति देउवा निवास बुढानिलकण्डमा भएको शीर्ष नेताहरुको छलफलमा नेविसंघ, तरुणदलमा भागवण्डा गर्ने र महाधिवेशनको कार्यतालिका पनि परिवर्तन गर्ने सहमति पछि केन्द्रिय समिति बैठक आव्हान गरिएको बताइएको छ ।

काग्रेसको पुस ११ गते सम्पन्न केन्द्रिय समिति बैठकले बहुमतको आधारमा गरेको निर्णय अनुसार २०७७ फागुन ७ गते देखि १० गते सम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनीक गरिएको थियो । शीर्ष नेताहरुले सहमतिमा केन्द्रिय महाधिवेशनको मिति यथावत राखेर स्थानीय र प्रदेश तहको अधिवेशन गर्ने मिति भने परिवर्तन गर्ने गरि सहमति गरेका छन् ।

पुर्व घोषित कार्यतालिका अनुसार २०७७ मंसिर ९ देखि पौस १५ भित्र गाउ, नगर, क्षेत्र, जिल्ला सबै अधिवेशन गरिसक्नुपर्ने थियो । यो अवधिमा यी सबै अधिवेशन सम्पन्न गर्न सम्भव नहुने भएकोले कार्यतालिका परिवर्तन गर्नुपर्ने केन्द्रिय सदस्य डा. शेखर कोइराला बताउनु हुन्छ । यस अघि निर्णय भएको अधिवेशन कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन २०७७ मंसिर ९ गते, गाउँ/नगरपालिका अधिवेशन २०७७ मंसिर ११ गत,े प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७७ मंसिर १५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०७७ मंसिर १७ गते, जिल्ला अधिवेशन २०७७ मंसिर २५ गते, र प्रदेश अधिवेशन २०७७ पौष १५ गते सम्म गरिसक्नु पर्ने थियो ।

शुक्रबारको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतका शीर्ष नेताहरुको उपस्थिती थियो ।

सहमति अनुसार गठन गर्न लागिएको विभाग भातृ संस्था नेपाल विद्यार्थि संघ र नेपाल तरुण दलमा पौडेल पक्षलाई ४० प्रतिशतको दरले भागवण्डा दिईने भएको छ । आफुले भागवण्डा पाएपछि पौडेल पक्षले पनि नेविसंघमा राखिएको ३२ वर्षिय उमेर हद हटाउन मञ्जुर भएको बताइन्छ ।

काग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबारको बैठकको लागि सम्पुर्ण पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई दिउसो १ वजे सानेपा डाकीएको छ ।

प्रतिक्रिया दिनुहोस्