नेपालमा कोरोना भाइरसको प्रकोपः सतर्कता बढाइयो, त्रिभुवन विमानस्थलमा यात्रुमाथि निगरानी



न्युज अफ नेपाल, काठमाडौं ।

चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ । श्वासप्रश्वासबाट सर्ने यो भाइ’रसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कोरोनाको जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको र रुघाखोकीलगायत स्वासप्रसासमा कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको महाशाखाले जानकारी दियो ।

विमानस्थल कार्यालयले पनि चीनको वुहान शहरबाट आउने यात्रुको निगरानी गर्न थालेको छ । विमानमा रुघाखोकी लागेका बिरामी भए वा नभएको बारे जानकारी लिने र त्यस्ता बिरामी पाइए उनीहरुको स्वास्थ्य परीक्षण गर्न पठाउने गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको विमानस्थल कार्यालयका प्रवक्ता देव चन्द्रलाल कर्णले जानकारी दिनुभयो ।

वुहान शहरबाट आएका एक नेपालीमा भाइरसको संक्रमण देखिएपछि उक्त व्यक्तिको नमुना परीक्षणका लागि हङकङ पठाइएको छ । उनी अस्पतालबाट अस्पतालबाट डिस्चार्ज भए पनि निगरानीमै रहेको महाशाखाले जनाएको छ ।

अहिलेसम्म यो भाइरसको संक्रमण चीनबाहेक अमेरिका दक्षिण कोरिया जापान र थाइल्याण्डमा पनि देखिएको छ । यो भाइरसका कारण अहिलेसम्म कम्तीमा १७ जनाको ज्यान गइसकेको छ भने चीनमा पाँच सयभन्दा बढी मानिस यसबाट संक्रमित भएका छन् ।

यसको प्रकोप बढ्दै गएपछि चीनको वुहान शहरमा अधिकारीहरुले स्थानीय मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्