मोरङको केराबारी गाउँपालिका कार्यालयमा बम विष्फोट



न्युज अफ नेपाल, मोरङ ।

मोरङको पूर्व उत्तर रहेको केराबारी गाउँपालिकाको कार्यालयमा शक्तिशाली बम विष्फोट भएको छ । विषफोटबाट २० लाख बढीको क्षति भएको छ । शुक्रबारराति अपरीचित समूहले कार्यालयको भवनमा बम विष्फोट गराएको हो ।

बम विष्फोटको घटना भएपछि रातीबाटै गाँउपालिका बजार क्षेत्रमा त्रास उत्पन्न भएको छ । वडा नम्बर १० स्थित गाँउपालिकाको कार्यालयमा विष्फोट भएको र सडकमा समेत बम राखिएको गाँउपालिका मेयर रोहित कार्कीले जानकारी दिनुभयो । सडकमा समेत फेला परेको बम नेपाली सेनाको बम डिस्पोल टोलीले निष्क्रिय गराएको छ । विष्फोटका अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

 

विष्फोट गराउनेको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन भइसकेको उहाँले बताउनुभयो । विष्फोटबाट कार्यालयको जेनेरेटर, पर्खाल, झ्याल, सीसी क्यामेरा, १० वटा झ्याल तथा ढोका र कार्यालय नजिकै राखिएको स्थानीयको एउटा स्कुटरमा गरि कम्तीमा २० लाख रुपैया बराबरको क्षति पुगेको छ ।

बम बिस्फोट कसले गराएको भनेर खुल्न नआए पनि बिप्लप नेतृत्वको नेकपा पार्टीले गराएको हुन सक्ने अनुमान गरिएको छ । केही दिनअघि मात्रै मोरङको मिक्लाजुङ गाउपाँलिका स्थित रमितेमा बम बिष्फोट भएको थियो । विष्फोटबाट निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा ध्वस्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्