बूढो काफल



नारायण खनाल, अर्घाखाँची ।
लटरम्म फलेका
पोटिला र रसिला गेडी
हेर्छु माथि फर्केर
मुख रसाउँछ, थुक निल्छु
अनि नियाल्छु फेँदतर्फ
जीउमा एउटा गुफा रहेछ
जहाँ कालो माटो, भार्सेको गुहु
ठ्याक्कै बाघले मुख बाय जस्तै आकृति
पटकपटक उहीँ गुफा र त्यही आकृति
डुलिरहन्छन् आँखामा
मन डराउँछ
खाने लालसा पनि हराउँछ
फर्कन्छु, आफ्नै घर तर्फ
सराप्दै बूढो काफललाई
बाटोमा हिँड्दै गर्दा
सरसरति हावा चल्छ
भगवान आए जस्तो लाग्छ
मन खुसी हुन्छ
त्यही काफलगेडिको स्वाद सम्झँदै
पुनः फर्कन्छु , उहीँ फेँद तर्फ
माथि फर्केर फेरि हेर्छु
तिनै काफल गेडी
जुन बूढो रूखको हाँगामा बसेर
मलाई खुच्चिङ्ग भन्दैछन्
आफै पिङमा रमाइरहेका काफल गेडी
पिङमा झुल्दाझुल्दै, कोही खस्छन्
कोही बच्छन्
पिङबाट खसेका काफल गेडी
कोही पात माथि, घाँस माथि र
कोही सफा जमिनमा खस्छन
तर कोही नियतले वा विवसता केले हो
फोहोर माथि आसन जमाउँछन
सफा ठाउँमा खसेकाहरू भने
मानवको कब्जामा पर्छन्
मान्छेको मुखमा पर्न पाएकामा
स्वर्गीय अनुभुती गर्दा हुन ती काफलले
तर मान्छेको दाँतले चपाइएर
मिहिन पर्दा कति पिडा हुँदो हो, बिचरा
तैपनि कुनै प्रतिकारमा उत्रन्नन्
मान्छेको मुखमा पस्न नपाएकाहरू
नर्कमा परे जस्तै अनुभव गर्दा हुन
भाग्यमानी हुन नसकेकोमा
आफैलाई सराप्दा हुन
रसिला र स्वादिष्ट काफल खान पाउनेहरू
भने खुसीले गदगद बन्छन्
नपाउनेहरूले ती काफल अमिला छन
भनेर पनि सम्झँदा हुन
म भने काफलको फेंद नजिकै बसेर
त्यसैको फेँदबाट टुप्पासम्म हेर्छु
र दंग पर्छु , ज्यानमा गुफा बन्दा पनि
डाँठमा बोक्राको लेपन लगाइ
तरुनो बन्न सफल
बूढो काफल हेर्छु र सम्झन्छु
बुढ्यौलिले छल्दा पनि
मान्छेको भार थाम्न नसकि ढल्दा पनि
चिन्ताले नपिरोलिने
बूढो काफल देखेर, अचम्मित बन्छु
जसले बुढेसकालमा पनि थाक्न जान्दैन
लटरम्म फलाएर, मानिस र चराचुरुङ्गीलाई
लोभ्याउन पनि छाड्दैन
गुफाले शोभायमान जिउको बूढो काफल
भित्र खोक्रिएर पनि
तरुनो जवानी भए जस्तै गर्छ
हेर्छु, पटक पटक उहि बूढो काफल
जसमा म चढ्न पनि सक्दिन
ढुङ्गा र लाठी बर्साएर
हाँगाहरूमा चोटपार्न
र काँचा काफल झार्न पनि
मनले मान्दैन र अलमल पर्दै बस्छु
बोटको नजिकै फेंद नेर
माटो लागेका काफल पुछ्दै
मुख रसाउन्जेल हेर्दै, खाँदै गर्छु
मनमनै धन्यवाद दिन्छु
बतासलाई, काफललाई, नियतिलाई
फर्कन्छु आमालाई सम्झँदै घरमा
अनि सम्झँदै बूढो काफललाई।

प्रतिक्रिया दिनुहोस्