टिपरको ठक्करबाट एकको निधन, एक घाइते



न्युज अफ नेपाल, नवलपुर । पूर्वीनवलपरासीको गैंडाकोटमा शुक्रबार राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको निधन भएको छ । ठक्करबाट निधन हुनेमा मोटरसाइकलमा सवार रूपन्देहीको बुटवल शीतलनगर बस्ने ३५ वर्षीय भुवन केसी रहेको प्रहरीले जनाएको छ ।

बा ६७ प ७८८२ नम्बरको मोटरसाइकलमा सवार केसीलाई गैंडाकोट–८, मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते केसीलाई उपचारका लागि जिल्ला अस्पताल चितवन लगिएकोमा त्यहीँ उनको निधन भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैंडाकोट–५ का २६ वर्षीय शशि कपुर केसी घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको बताइएको छ ।

ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्