कोरोना भाइरस उपचारका लागि १० दिनभित्र नयाँ अस्पताल निर्माण गर्दै चीन



बेइजिङ । चीनले कोरोना भाइरसका बिरामीको चाप बढेपछि मध्यचीनको वुहान शहरमा उपचारलाई व्यवस्थित गर्न कठिनाई भएको भन्ने सूचनाका आधारमा चीनको प्रशासनले १० दिनभित्र नयाँ अस्पताल निर्माण गर्न निर्देशन दिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोरोना भाइरस सङ्क्रमण भएका विरामीलाई सहज उपचारको व्यवस्थालाई प्रत्याभूत गरिने अधिकारीहरूले बताएका हुन् । नयाँ अस्पतालको निर्माणले कोरोनाका बिरामीलाई अन्य अस्पतालमा छुट्टाएर सेवा दिनुपर्ने बाध्यतालाई अन्त्य गर्ने विश्वास लिइएको छ ।

वुहानमा निर्माण गरिने उक्त अस्पतालको क्षमता एक हजार सीटको हुनेछ भने अस्पताल २५ हजार वर्गमिटरमा निर्माण हुने सिन्ह्वा समाचार समितिले जनाएको छ ।

चीनका विभिन्न सहरी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम तीत्र्र बनेपछि प्रशासनले आगामी फेब्रुअरी ३ सम्ममा नयाँ अस्पतालमा सेवा सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिएको हो ।

कोरोना भाइरसका कारण शुक्रबारसम्म चीनमा २६ जनाको मृत्यु भएको छ भने सयाँै व्यक्तिमा सङ्क्रमण देखिएको छ । चिनियाँ अधिकारीले अहिलेसम्म ८२० जनामा उक्त भाइरसको सङ्क्रमण देखिएको जनाएका छन् तर यो सङ्ख्या चीनले उपलब्ध गराएकोभन्दा निकै धेरै भएको अनुमान स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका छन् । सङ्क्रमण फैलिन नदिन कोरोनाको पहिलो विरामी भेटिएको वुहान सहरबाट अति आवश्यक बाहेक नागरिकलाई अन्यत्र नजान आग्रह गरिसकिएको छ ।

अस्पताल निर्माणका लागि दर्जनौँ एक्स्काभेटर र ट्रकहरूले काम सुरू गरिसकेका चिनियाँ टेलिभिजन सीसीटीभीले आफ्नो समाचार प्रशारणमा देखाएको छ ।

“नयाँ अस्पतालको निर्माण सजिलै सङ्क्रमण हुने कोरोना भाइरसको उपचारमा देखिएका समस्यालाई न्युनिकरण गर्न र रोगको उपचारलाई विशेषज्ञ चिकित्सकहरूको अभाव हुन नदिन र सेवा प्रदान गर्न सहज वातावरण निर्माण गर्नका लागि लक्षित रहेको छ,” सिन्ह्वाले लेखेको छ । “हामीले वुहानमा रहेका सम्पूर्ण कामदारलाई निर्माणका लगि दिनरात विभिन्न सिफ्टमा काम गर्ने वातावरण मिलाएका छौँ,” वुहानका निर्माण कम्पनीका व्यवस्थापक झाङ चोङ्सीलाई उद्धृत गरी सिन्ह्वाले जनाएको छ ।

चीनमा सन् २००३ मा श्वासप्रश्वाससम्बन्धी जटिल प्रकारको सङ्क्रमण ९सार्स०का विरामी अत्यधिक बढेपछि माहामारीलाई नियन्त्रण गर्न बेइजिङको बाहिरी ग्रामिण इलाकामा एक हप्ताभित्रै अस्पताल बनाइएको थियो । सार्सका कारण सन् २००२ देखि सन् २००३ सम्ममा चीनमा ३४९ र हङकङमा २९९ को मृत्यु भएको थियो ।

सिआओटाङसान अस्पताललाई तयारी सामानहरूको प्रयोग गरीे त्यही नमूनामा भवन निर्माण हुने सिन्ह्वाले जनाएको छ । वुहानमा करिब एक करोड १० लाखको हाराहारीमा जनसङ्ख्या रहेको र विरामीको चाप बढेपछि निश्चित अस्पतालका विभिन्न ६१ क्लिनिकमार्फत् कोरोनाका विरामीलाई छुट्टै राखी उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्