‘कोपिला’ को च्यारिटीबाट नगद ५० हजार



न्युज अफ नेपाल, हेटौंडा ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’ को शुक्रबार हेटौंडामा च्यारिटी सो भएको छ ।

निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तु समावेश गरी निर्माण भएको नेपाली चलचित्रको च्यारिटी सोमा उनकी आमा दुर्गादेवी पन्तसहित चलचित्रका कलाकार टोलीको सहभागिता थियो । चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, सञ्जीवनी खरेलसहित कलाकारको उपस्थिति थियो ।

निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई आभारपत्रसहित नगद ५० हजार प्रदान गरिएको थियो । मकवानपुर जागरण अभियानले चलचित्रको च्यारिटी सो गरेको र उक्त सोबाट संकलित रकमबाट पन्त परिवारलाई ५० हजार प्रदान गरिएकोे अभियान अध्यक्ष कृष्णराज कोइरालाले बताउनुभयो । चलचित्रका निर्देशक शिवम् अधिकारी, निर्माता मणिराज गौतम र अध्यक्ष कोइरालाले नगद प्रदान गर्नुभएको थियो ।

चलचित्र हेरेपछि मकवानपुरे दर्शकले चलचित्रको प्रशंसा गरेका छन् । मकवानपुरका सञ्चारकर्मी गौतमले निर्माण गरेको चलचित्रलाई अधिकारीले निर्देशन गर्नुभएको हो । चलचित्रमा निर्मलाको भूमिकामा सञ्जीवनी खरेलले अभिनय गरेकी छन् ।

चलचित्रमा गणेश गिरी, सरिता गिरी, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतीक्षा खड्का, शीया आचार्य, जुनिपर पौडेललगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्