भन्सार छलेर ल्याइएको कपडासहित एक महिला पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा–१० स्थित बसपार्कमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमातहत प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले भन्सार छलिएको कपडासहित एक महिलालाई शुक्रबार विहान करिब ९ः३० बजे पक्राउ गरेको छ ।

प्रसनि सुरेन्द्र हजाराको कमाण्डमा खटिएको प्रहरी टोलीले चेक गर्दा बीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बसमा हेटौंडा–९ बस्ने वर्ष ४३ की रिता थापाले झोलामा लुकाइल्याएको कपडासहित पक्राउ गरेको हो ।

करिब १ लाख १७ हजार मूल्य बराबरका विभिन्न किसिमका रेडिमेड साडी, कुर्था सुरुवाल ल्याएको हुँदा थापालाई खानतलासी पूर्जी दिएर खानतलासी गर्दा अवैधरुपमा चोरीपैठारी गरी ल्याएको कपडासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले आवश्यक कानुनी कारबाहीका लागि बीरगञ्ज भन्सार कार्यालयमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्