शहीद सप्ताह सुरु, इतिहास सम्झँदै गढीमा एकदन्ता हात्ती



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा सप्ताहव्यापीरुपमा मनाउन शहीद दिवस विविध कार्यक्रमसाथ शुक्रबार शुरु भएको छ । शुक्रबार विहान पदयात्रा गरेर शहीद सप्ताह औपचारिकरुपमा सुरु भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री एवम् शहीद स्मारक विकास समिति अध्यक्ष डोरमणि पौडेलसहित हेटौंडाको बुद्धचोकबाट सुरु भएको पदयात्रामा शहीद स्मारक पुगेर सम्पन्न भएको जिल्ला हो ।

शुक्रबार नै मकवानपुरगढी दरबारमा २ सय ५७ औं विजयोत्सव मनाइएको छ । मकवानपुरगढीमा मुख्यमन्त्री पौडेलले झण्डात्तोलनसहित एकदन्ता सेतो हात्तीको मूर्ति अनावरण गर्नुभयो ।

ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा विजयोत्सव मनाइएको हो । मुगल वादशाह मिरकासिमको नेतृत्वमा रहेको अंग्रेज फौजलाई पराजित गरेको सम्झनामा शुक्रबार मकवानपुर जिल्लाको ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा विजयोत्सव मनाइएको हो ।
मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको विजयोत्सव कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा एकदन्ता सेतो हात्तीको प्रतिमा अनावरण गर्नुभएको थियो ।

विस १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा केही वर्षदेखि विजयोत्सव मनाउने गरिएको छ । गोर्खाली सेनाले ऐतिहासिक विजय प्राप्त गरेको २ सय ५७ वर्ष पुगेको दिन कार्यक्रम गरिएको हो । गोर्खाली सेनाले विदेशी सेनासित लडेको पहिलो युद्धका रुपमा यसलाई लिइन्छ ।

सरकारले घोषणा गरेका १ सय नयाँ पर्यटकीयस्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशकै सबभन्दा ठूलो र पुरानो गढीको रुपमा छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिब १६ किलोमिटर उत्तरपूर्वमा रहेको मकवानपुरगढीमा नेपालको राष्ट्रिय झण्डासहित संघीय नेपालको नक्सा राखिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले गोर्खाली सेनाको वीरतालाई विश्वसामु सुपरिचित गराउने काम गोर्खा–मुगल युद्धले गराएको बताउनुभयो । मकवानपुरगढीको विजयोत्सवका उहाँले गोर्खालीको साहसका कारण आज विश्वमा नेपालीको शिर उच्च रहेको बताउनुभयो ।
पौडेलले पुर्खाहरुले निर्माण गरेको विभिन्न संरचना युवाले संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । नेपालको रहनसहन, पुर्खाको योगदान, भौगोलिक अबस्था र विविधताका दृष्टिले सम्बृद्ध भएको हुँदा यसबारे युवा पुस्तामा पर्याप्त जानकारी हुनु आवश्यक रहेको उहाँले धारणा व्यक्त गर्नुभयो ।

पौडेलले मकवानपुरगढीको संरक्षण र सुरक्षा गर्नु जरुरी रहेको बताउनुभयो । विभिन्न राष्ट्रिय मार्गले जोडिएको गढीको अझै महत्व भएको भन्दै उहाँले मकवानपुरका गढी, ऐतिहासिक र पुरातात्विक क्षेत्र संरक्षण गरिनुपर्ने औंल्याउनुभयो ।

प्रदेश सरकारले गढी र उक्त क्षेत्रको बन क्षेत्रका संरक्षणका लागि काम गरिरहेको उहाँले बताउनुभयो । मकवानपुरगढीमा भएको एकीकरण र विजयप्राप्तिको दिनले हालको सार्वभौम मुलुक बनेको उहाँले स्मरण गर्नुभयो ।

नेपालको इतिहासमा मकवानपुरगढीको महत्व दर्शाउनु राम्रो कुरा रहेको भन्दै पौडेलले भन्नुभयो–नेपालको इतिहासमा जीवनको आहुति दिनेहरुप्रति श्रद्धासुमन छ । ऐतिहासिक धरोहरमा रहेको मकवानपुरगढीको संरक्षण गर्नु आवश्यक छ ।

वीर गोर्खालीले उक्त सेनालाई पराजितमात्र गरेनन्, ५ सय भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप नियन्त्रणमा लिन सफलता प्राप्त गरेको जनाइएको छ । इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलका १ हजार ७ सय सेनालाई पराजित गरेका थिए ।
पहिलो विजयोत्सव मनाउन तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित भएको बताइएको छ । सोही समयदेखि विजयोत्सव मनाउन थालिएको भए पनि व्यबस्थित र भव्य कार्यक्रम गरेर मनाउन थालेको केही वर्षमात्र भएको गढी संरक्षण र व्यबस्थापनमा सक्रिय बद्रीप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

गढी र तिनको ऐतिहासिकताको अध्ययन गर्नुभएका हेटौंडा सन्देश दैनिकका प्रकाशक केदारप्रसाद न्यौपानेका अनुसार देशभरका २ सय गढीमध्ये मकवानपुरगढीको इतिहास लामो र महत्वपूर्ण छ ।

मुकुन्द सेनले राज्य बाँडफाँट गर्दा मकवानपुर कान्छा छोरा लोहाङ सेनको भागमा प¥यो । लोहाङले विस १६१० पछि गढीको पुनर्निर्माण गरी मकवानपुर राज्यको पुनर्निर्माण र विस्तार गरेका बताइएको छ ।

प्राध्यापक दिनेशराज पन्तले मकवानपुरगढीबारे लेखेको एक लेखका अनुसार विस १७९४ मा गोर्खाका युवराज पृथ्वीनारायण शाहको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भएको थियो ।

हेमकर्ण सेनका छोरा दिग्बन्धन सेनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो थिएन । हेमकर्ण सेनले कन्यादानको समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहा÷दुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए । पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धन सेनसँग झगडा प¥यो र पृथ्वीनारायण बेहुली नै नलिएर फर्केको लेखमा छ ।

सप्ताहव्यापी दिवसका अवसरमा माघ १२ गते जिल्लाका विभिन्न जातजातिको मौलिकता झल्कने विविध साँस्कृतिक कार्यक्रम, माघ १३ र १४ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा कलासृजना कार्यशाला आयोजना गरिने छ ।

शहीद स्मारकमा निर्माण भएको प्रजातान्त्रिक पार्कको मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन हुने कार्यक्रम छ । सोही दिन २० देशका राजदुतसमेत कार्यक्रममा सहभागी हुने स्मारक विकास समितिले जनाएको छ ।

माघ १५ गते साहित्यिक गजलवाचन कार्यक्रम र माघ १६ गते मुल समारोह समितिद्वारा प्रभातफेरी तथा श्रद्धाञ्जली कार्यक्रम गरी सप्ताह सम्पन्न गरिने छ ।

सप्ताहसँगै भिजिट नेपाल २०२० सफल पार्न विभिन्न कार्यक्रमसमेत आयोजना गरिएका छन् । मकवानपुरका पर्यटकीय क्षेत्रहरु स्मारकसँगै कुष्माण्ड सरोवर, मकवानपुरगढी, इन्द्रसरोवर ताल, दामन भ्युटावर, चित्लाङ भेंडा फार्म, भीमफेदी हात्तीसार, हेटौंडाको जुरेथुम, हर्नामाडीको मूर्ति बगैंचा, मनकामना मन्दिर, अशोक चैत्यलगायत जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्