प्रदेश १ को लोकसेवा आयोगका पदाधिकारीद्वारा सपथ



हरीहर नेपाल, विराटनगर।

प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष र सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ को उपस्थितिमा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराई, सदस्यद्वय टीकादत्त राई र सजना दाहालले पद तथा गोपनीयताको सपथ लिनु भएको हो ।

प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (२) बमोजिम मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा गठित सिफारिस समितिले माघ ६ गते उनीहरूको नाम सिफारिस गरेको थियो ।

सोही सिफारिस बमोजिम तीनैजनालाई बिहीबार प्रदेश प्रमुख अधिकारीले अध्यक्ष र सदस्य पदमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त अध्यक्ष भट्टराईलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।

सदस्यद्वय राई र दाहाललाई अध्यक्ष भट्टराईले सपथ ग्रहण गराउनुभयो । प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमै प्रदेश लोकसेवा आयोग कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ ।

तर हालसम्म कार्यालयको व्यवस्थापन नभएका कारण नवनियुक्त पदाधिकारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै स्थापना गरिएको अस्थायी कार्यालयमा रहेर काम गर्नुहुनेछ । शुक्रबारै उहाँहरूले मुख्यमन्त्री कार्यालयमै गएर पदभारसमेत ग्रहण गर्नुभएकोछ ।

प्रतिक्रिया दिनुहोस्