धुलिखेलका मेयरसँग विद्यार्थीको चासो नमुना विद्यालय बनाउन के गर्नुहुन्छ ?



मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक।

जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिने धुलिखेल नगरपालिकामा रहेको सञ्जीवनी नमुना माविमा विद्यार्थी र स्थानीय सरकारबीच संवाद भइरहेको थियो। विद्यार्थी साधना चौलागाईंले जुरुक्क उठेर प्रश्न गर्नुभयो– ‘मेयरज्यू, तपाईं यही विद्यालयबाट अध्ययन गर्नुभएको सुनें, अहिले सरकार प्रमुख हुनुहुन्छ, विद्यालयका तमाम समस्याप्रति जानकार हुनुहुन्छ होला, यो विद्यालयलाई नमुना बनाउन के गर्नुहुन्छ?’
प्रश्नको क्रम निरन्तर चलिरह्यो।

विद्यार्थी श्रीराम न्यौपानेले परीक्षा गुणस्तर बनाउन नगरपालिकाको योजनाका बारेमा नगर प्रमुखसँग जिज्ञाशा राख्नुभयो।स्थानीय सरकारले आफै प्रश्नपत्र बनाउन थालेपछि प्रश्नपत्रमा भएका त्रुटिले गुणस्तरमा ह्रास आउन सक्नेतर्फ विद्यार्थी श्रीराम न्यौपानेले सरकार प्रमुखसमक्ष गुनासो गर्नुभएको थियो।

विद्यार्थी आशीष बजगाईंले नगर प्रमुख आफैले अध्ययन गरेको सञ्जीवनीका लागि के योगदान दिन सक्नुहुन्छ भनी प्रश्न राख्नुभएको थियो।विद्यार्थी इमरान शाहले खेलकुदको विकासमा ध्यान दिन अनुरोध गर्नुभएको थियो। नारायणी न्यौपानेले कन्फरेस हलको आवश्यकता रहेको बताउनुभयो।

कृपा राउतले यातायातको व्यवस्थापनका लागि अनुरोध गर्नुभयो। रिया फुँयालले सामुदायिक विद्यालयको बजेटका बारेमा जिज्ञाशा राख्नुभयो। प्रशंसा श्रेष्ठले बालमैत्री विद्यालयका लागि नगरपालिकाको योजनाका बारेमा प्रश्न राख्नुभएको थियो।

विद्यार्थी आयुष श्रेष्ठले पर्यटन वर्षको तयारीका बारेमा नगर प्रमुखसँग प्रश्न राख्नुभयो।सायरा तिमल्सिना, एलिसा हुमागाईंले गुणस्तरीय शिक्षाका बारेमा जिज्ञाशा राख्नुभयो। मुस्कान प्रवीणले म्युजिक कक्षा सञ्चालनका लागि नगरपालिकाको योजनाका बारेमा सुझाव दिनुभयो।

धुलिखेल सञ्जीवनी नमुना माविमा मेयरसँंग विद्यार्थी कार्यक्रममा बोल्दै विद्यार्थीहरूले उक्त जिज्ञाशा नगर प्रमुख अशोक ब्याञ्जुसमक्ष प्रस्तुत गरेका थिए।

नगर प्रमुख अशोक ब्याञ्जुले शिक्षक, अभिभावक, विज्ञसँग मात्रै छलफल गरेर बनाइने शिक्षानीतिमा विद्यार्थीका कुरासमेत समावेश गरी दीर्घकालीनरूपमा शिक्षामा लगानी वृद्धि गरी र शिक्षाको गुणस्तर बढाउन विद्यार्थीहरूको चासो र जिज्ञाशा सम्बोधन गर्न मेयरसँग विद्यार्थी कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

विद्यार्थीहरूको जिज्ञाशाको जवाफ दिँदै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई शैक्षिक गुणस्तरसहितको नगर बनाउन कहिल्यै विद्यार्थीहरूको आवाज नसुनी तयार गरिने शैक्षिक कार्यक्रमलाई बदल्न प्रश्नोत्तर कार्यक्रम राखिएकाले विद्यार्थीहरूले दिनुभएको सुझाव, सल्लाह र जिज्ञाशालाई शैक्षिक क्यालेन्डर र योजनाभित्र समावेश गरी अगाडि बढ्ने बताउनुभयो।

परीक्षा प्रणाली सुधार गरी गुणस्तर कायम राख्ने, नमुना विद्यालयका मापदण्डलाई पूरा गर्न भौतिक र शैक्षिक सुधारका कार्यहरू निरन्तर गर्ने, शैक्षिक सामग्री अभाव हुन नदिने, खेल मैदानको व्यवस्थापन गर्ने, यातायातको सुविधालाई ध्यान दिने, नेपाल सरकारले विनियोजन गरेको १७ करोड बजेटमा स्थानीय सरकारले झन्डै १ करोड ३० लाख थप गरी गुणस्तरीय शिक्षालाई जोड दिएको, महिनाको एकपटक प्रअहरूको बैठक सञ्चालन गरी गुणस्तर कायम राख्न प्रयास गरेको, अंग्रेजी, गणित र सामाजिक विषयका शिक्षकको नियमित बैठक सञ्चालन गरिरहेको, दातृ निकायसँगको पहलमा विद्यालयको भौतिक पूर्वाधार निर्माण गरिरहेको, काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा विभिन्न विषयमा नगरभित्रका २२ विद्यार्थीलाई वार्षिक अध्ययनको अवसर मिलाइएको, विद्यालय र विश्वविद्यालय जोड्ने वातावरण तयार गरेको जानकारी दिनुभएको थियो।

बालमैत्री शहर निर्माणका लागि वडालाई बालमैत्री घोषणा गरी २०२० भित्र सबै वडा र नगरलाई पूर्णरुपमा बालमैत्री नगर घोषणा गर्ने गरी कार्य गरिरहेको, पर्यटन वर्षलाई मात्रै लक्षित नगरी सिंगो नगरलाई पर्यटकीय शहरका रुपमा विकास गर्न पार्कलगायतका संरचनाहरू निर्माण गरिएको, संगीत कक्षाका लागि विशेष व्यवस्थापनको योजना बनाइएको जानकारी गराउनुभएको थियो। नगर प्रमुखसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर उपलब्ध गराएकामा विद्यार्थीहरूले धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस्