बैतडी खाद्य असुरक्षित क्षेत्र



विनोद सिंह विष्ट, बैतडी।

बैतडीका विभिन्न क्षेत्रहरू न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा रहेका छन्। तीन महिनासम्म पनि बारीमा उत्पादित अन्न खानका लागि नपुग्ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो।

साविकको जिल्ला कृषि विकास कार्यालयले तीन वर्षअघि गरेको अध्ययनअनुसार बैतडीका महाकाली, पञ्चेश्वर, शिवनाथ, कुलाउ, सिगास, थालाकाँडा, ढुंगाड क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको छ।

पछिल्ला तीन वर्षयता पनि खाद्यान्न उत्पादनमा सुधार नआएकाले ती क्षेत्रहरू खाद्यान्न असुरक्षित रुपमा रहेको निमित्त प्रमुख चन्दले जानकारी दिनुभयो। पछिल्लो समयमा खडेरी, जंगली जनावरलगायतका कारणले बालीनालीमा क्षति पुगेपछि खाद्यान्न उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

स्थानीयहरूले खेत बाँझै छोडेकाले खाद्यान्न उत्पादन कमी आउन थालेको हो। जंगली जनावर र बाँदरका कारण खेत बाँझै छोड्नुपरेको दशरथचन्द नगरपालिका–५ का स्थानीय पुष्पा चन्दले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘बारीमा लगाएको बाली बाँदरले सखाप पार्ने भएकाले खेत बाँझै छोड्न बाध्य भएका छौं।’ मुख्य खाद्यबालीका रुपमा रहेको मकैबाली पनि जंगली बँदेलले नष्ट गर्न थालेपछि खाद्यान्न अभाव हुँदै गएको स्थानीयबासिन्दाले बताएका छन्।

खाद्यान्न पनि अपुग

यसैबीच जिल्लामा उत्पादित खाद्यान्न अपुग हुने गरेको छ। पछिल्ला वर्षमा खाद्यान्न उत्पादनमा कमी आएसँगै जिल्लामा आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘जंगली बँदेल तथा बाँदरका कारणले खेतीयोग्य जमिन बाँझै राख्ने प्रवृत्ति बढेपछि खाद्यान्न उत्पादनमा कमी आएको हो।’

जिल्लामा वार्षिक ५० हजार ६ सय ७५ मेट्रिक टन खाद्यान्न आवश्यक परे पनि ४३ हजार ३ सय ४३ मेट्रिक टन खाद्यान्न मात्रै उत्पादन हुने गरेको छ। वार्षिक ७ हजार ३ सय ३२ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको चन्दले जानकारी दिनुभयो।

बैतडीको मुख्य खाद्यबालीका रुपमा रहेको मकै उत्पादनमा कमी आउन थालेपछि खाद्यान्न अपुग हुन थालेको हो। पहिला थोरै मात्रामा खाद्यान्न आयात गर्नुपर्ने भए पनि पछिल्ला दश वर्षयता अपुग खाद्यान्नको परिमाण बढ्दै गएको चन्दको भनाइ छ।

मकैखेतीको क्षेत्रफल घट्दै

यस्तै मकैखेती गरिने जमिनको क्षेत्रफल घट्दै गएपछि उत्पादन पनि घट्दै गएको छ। गत वर्ष १४ हजार ५ सय हेक्टर जमिनमा मकै खेती गरिएकोमा यस वर्ष १२ हजार २ सय हेक्टर जमिनमा मात्रै मकै खेती गरिएको थियो।

गत वर्षमा २३ हजार २ सय मेट्रिक टन मकै उत्पादन भएकामा यो वर्ष १९ हजार ७ सय ६४ मेट्रिक टन मकै उत्पादन भएको छ।

मकैबालीमा बाँदर र जंगली बँदेलले व्यापक क्षति पुर्याएकाले मकैको उत्पादन घटेको हो। धान उत्पादनमा भने केही वृद्धि भएको छ। गत वर्ष १६ हजार ९ सय मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष १७ हजार मेट्रिक टन धान उत्पादन भएको छ।

 

प्रतिक्रिया दिनुहोस्