सशस्त्र प्रहरी बलको १९औं स्थापना दिवस सम्पन्न



????????????????????????????????????

नेपाल समाचारपत्र, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओली सशस्त्र प्रहरी बल नेपाल प्रधानकार्यालयमा बिहीबार आयोजित ‘१९औं सशस्त्र प्रहरी दिवस २०७६’ विशेष समारोहमा सरिक हुनुभएको छ।प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो।

प्रधानमन्त्री ओलीले सो विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक माधवबहादुर थापालाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो। प्रधानमन्त्री ओलीले उक्त समारोहमा सशस्त्र प्रहरी बलद्वारा प्रकाशित पुस्तक लोकार्पण गर्नुभयो।

उहाँले सशस्त्र प्रहरी बल नेपालद्वारा आफ्नो कार्यक्षेत्रभित्रका सुरक्षा तैनाथी विशिष्ट व्यक्तिको सुरक्षा, उद्वार कार्यलगायतको ‘डेमोस्ट्रेसन’ अवलोकन गर्नुभयो।

प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहलाई सम्बोधनको क्रममा कर्तव्यपालनाको क्रममा वीरगति प्राप्त गर्नुभएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीको श्रद्धापूर्वक स्मरण गर्नुहुँदै उहाँहरूको वीरताको मुक्तकण्ठले प्रशंसा गर्दै घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो।

बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बल अग्रणी स्थानमा रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले यसतर्फ संगठनको सकृयताप्रति खुसी लागेको उल्लेख गर्नुभयो।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल जनस्तरमा भिजिसकेको तथा प्रभावकारी सुरक्षा निकायको रुपमा आफूलाई उभ्याउन सफल भएको बताउनुभयो।

देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिति जनाउँदै सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, विपद् व्यवस्थापन, चोरीपैठारी निकासी नियन्त्रणलगायतका क्षेत्रहरूमा उत्कृष्ट कार्य गरेको चर्चा गर्नुहुँदै उहाँले सशस्त्र प्रहरी बलले अन्य सुरक्षा निकायसँग समन्वय गरी उत्कृष्ट कार्य गरिरहेको उल्लेख गर्नुभयो।

उहाँले यस संगठनको जनशक्तिलाई संख्यात्मक र गुणात्मक रुपमा बृद्धि गर्दै लगिने बताउनुहुँदै चोरीपैठारी निकासी नियन्त्रण, सीमावर्ती अपराध नियन्त्रणलगायतका कार्यका लागि क्रमिक रुपमा बोर्डर आउट पोस्टहरू थप गर्दै लगिने कुरासमेत उल्लेख गर्नुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षा गर्न तथा जनताको जिउधनको सुरक्षाका लागि सशस्त्र प्रहरी बलले आफ्नोतर्फबाट पूर्ण रुपमा योगदान पुर्याउने बताउनुभयो।

बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलले परिचालनका क्षेत्रहरूमा उत्कृष्ट योगदान पुर्याएको तथा विपद्का बेला खोजी तथा उद्वार कार्यमा पुर्याएको योगदानको सबै क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा भएको उल्लेख गर्नुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले अवैध चोरीपैठारी निकासी नियन्त्रणमा समेत उत्कृष्ट कार्य गरेको उल्लेख गर्नुहुँदै यसै आर्थिक वर्षको पुष महिनासम्ममा ३६ करोड ७२ लाख रुपियाँबराबरको अवैध सामग्री नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्