प्रधानाध्यापकद्वारा दुई छात्रामाथि यौन दुर्व्यवहार



सरोज यादव, विराटनगर। 

विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुर्व्यवहारको शिकार भएका छन्। उनीहरू आफूलाई अध्यापन अध्यापन गर्ने मदरसाका मोलबीबाट दुर्व्यवहारको शिकार भएको बताएका छन्।विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रा यौन दुर्व्यवहारको शिकार भएका हुन्।

सो मदरसाका प्रधानाध्यापकसमेत रहेका मोलवी अमिरुद्दिनबाट आफूहरू यौन दुर्व्यवहारको शिकार भएको छात्राहरूले बताएका छन्। मोलवी अमिरुद्दिनले माघ ७ गते र माघ ८ गते गरी मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्दिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुर्व्यवहार गरेको पीडित छात्रामध्येकी एकको भनाइ छ।

माघ ८ गते बुधबार, यौन दुर्व्यवहारभएपछि पीडित छात्रा बिहीबार मदरसा जान मानेकी थिइनन्। उनकी आमाले मदरसा जानैपर्ने जोड गरेपछि पीडित बालिकाले आफ्नी आमालाई मोलवीले गरेको दुर्व्यवहारको विषयमा जानकारी गराएपछि घटना सार्वजनिक भएको हो।

मोलवी अमिरुद्दिनले यसअघि गएको माघ ७ गतेसमेत आफ्नै मदरसामा अध्ययनरत अर्की एक छात्रालाई समेत यौन दुर्व्यवहार गरेको खुलासा भएको छ। दैनिक ६ बजेदेखि ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरुद्दिनले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुर्व्यवहार गरेको पीडित छात्राले बताएकी छिन्।

२०६४ सालदेखि सो मदरसामा अध्यापन गर्ने मोलवी अमिरुद्दिनले छात्राहरूलाई यसअघि पनि पटकपटक यौन दुर्व्यवहार गर्दै आएको स्थानीयले बताएका छन्। कयौं पटक घटना घटाए पनि स्थानीयस्तरमै मिलापत्र गरेर घटना ढाकछोप गरिएको स्थानीयले दाबी गरेका छन्।

पीडितका आफन्तले घटनाका विषयमा प्रहरीलाई जानकारी गराएपछि आरोपीका छोराहरूले तरबार देखाउँदै धम्क्याएको पीडितका आफन्तको भनाइ छ।

घटनाको विषयमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन्। उजुरी आएको पुष्टि गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी लोकदर्शन थापाले आरोपीविरुद्ध बालयौन दुर्व्यवहारको मुद्दा अघि बढाइने जानकारी दिनुभयो। उहाँले आरोपीको खोजी गर्न प्रहरी खटिए पनि घरमा फेला पर्न नसकेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्