आत्महत्याको कहर



पछिल्लो समय नेपालमा आत्महत्या बढेको छ। आत्महत्याका कारणबारे यथोचित अध्ययन, अनुसन्धान र खोज अझै हुन नसकेको देखिन्छ। यद्यपि, विभिन्न समयमा गरिएका अध्ययनका आधारमा आत्महत्याको कारणमा गरिबी, घरेलु हिंसा, सामाजिक सञ्जाल, प्रविधिको दुरूपयोगलगायत मुख्य देखिन्छन्।

यही आत्महत्याको अनुक्रममा देश तरंगित हुने आत्महत्याको घटना चितवनमा भयो। जुन घटनामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने त दुरुत्साहन मुद्दामा मुछिए नै। शालिकराम पुडासैनी प्रकरणपछि आत्महत्या दुरुत्साहनका अनेक विषय आए।

त्यसपछि दुरुत्साहन फितलो बन्ने जोखिम बढेको भन्दै सर्वत्र चिन्ता व्यक्त भयो। जसले जसको नाम लिएर पनि दुरुत्साहन आरोप लगाउन सक्ने खतरानक नजिर अदालतले स्थापित गर्छ कि भन्नेमा सर्वत्र चासो र चिन्ता व्यक्त थियो।

यो स्वाभाविक पनि यसकारण थियो कि विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा प्रत्येक वर्ष करिब ८ लाख मानिसले आत्महत्या गर्छन्। यस आधारमा प्रत्येक ४० सेकेन्डमा एकजनाले आत्महत्या गरेको हुन्छ।

नेपालमा आत्महत्या गर्नेहरूमध्ये करिब ७२ प्रतिशतले झुन्डिएर आत्महत्या गर्छन्। विष सेवन गरेर, आफूले आफैंलाई गोली हानेर, आगो लगाएर, हामफालेर, करेन्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने गरेको पनि पाइन्छ।

नेपाल प्रहरीको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा २४ हजार ६ सय ३९ जनाले आत्महत्या गरेका छन्। यस अवधिमा आत्महत्या गर्नेहरूमा ११ हजार ६ सय ४५ महिला छन्। कुल आत्महत्या गर्नेमध्ये १ हजार १ सय ४६ बालबालिका छन्।

यस आधारमा देशभरिमा प्रत्येक दिन १४ जनाले आत्महत्या गर्छन् भन्ने हिसाब निकाल्न सकिन्छ। तथ्यांक हेर्दा प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको छ। यो तथ्यांक प्रहरीसम्म आएको जानकारी मात्रै हो।

अब आत्महत्यालाई हत्या भएको भन्दै मुद्दा धेरै पर्न थालेका छन्। यसले सामाजिक सम्बन्धमा खलल त पुर्याउँछ नै। आत्महत्यालाई आफ्नो माग पूरा गराउने सौदाबाजीको रूपमा प्रयोग गर्दा साँच्चिकै दुरुत्साहनमा पर्नेहरूले न्याय नपाउने विडम्बनापूर्ण अवस्था विद्यमान बनेको छ।

शालिकराम आत्महत्या प्रकरणमा पनि त्यसको केही परिदृश्य देखियो। एउटा जमात र अनुसन्धान गर्ने प्रहरी निकायको पनि पूर्वाग्रह साँध्ने मेलो पनि बन्यो। जसको अन्तिम फैसलामा पाएको सफाइले त्यो मिथ्या थियो भन्ने प्रमाणित गरिदियो।

अदालतमा बहस चल्दै गर्दा पत्रकार लामिछाने र कँडेलको पक्षमा हजारौं नागरिक सडकमा आउँदा भीडले न्याय दिने होइन भन्ने बहस पनि जरुर भयो। यो बहस अन्यथा थिएन पनि। निश्चित हो, न्याय भीडले दिने होइन।

तर त्यस बखतको त्यो ठूलो उभारले सत्यलाई कुनै न कुनै रूपमा प्रतिविम्बित गरेर रखवारी नगरेको भए कम्तीमा पनि रवि लामिछाने, युवराज कँडेल पुर्पक्षका नाममा कथित कारागारमा बस्ने निश्चित प्रायः थियो।

अब यो प्रकरणले अनुसन्धान गर्ने निकायदेखि अदालतसम्मलाई पूर्वाग्रहमा होइन, बहकाउमा होइन, तथ्यमा आधारित हुन पाठ सिकाएको छ। न्याय भीडले होइन, न्यायिक निकाय हाम्रा अदालतले नै दिन सक्षम छन् भन्ने राम्रो सबक पनि हामीलाई सिकाएको छ।

– मनिसा दुलाल,
रामनगर, चितवन।

प्रतिक्रिया दिनुहोस्