ट्रेड युनियन आन्दोलन बुझाउने पुस्तक



२०६२/०६३ मा भएको युगान्तकारी परिवतर्नबाट नेपालको संविधान–२०७२ जारी भएको छ। संविधानले श्रमिक वर्गको हक–अधिकारलाई सुनिश्चित गर्न श्रमसम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ।

श्रमिकहरूको हकहितको संरक्षण र सम्वद्र्धन गर्न र श्रम क्षेत्रलाई नियमन र व्यवस्थापन गर्न श्रम ऐन–२०७४, ट्रेडयुनियन ऐन–२०४९, सामाजिक सुरक्षा ऐन–२०७५ लागू भएका छन्।

नेपालमा संगठित रूपले ट्रेड युनियन आन्दोलनको थालनी भएको सात दशक पूरा भइसकेको छ। तर, श्रम क्षेत्र बताउने/बुझाउने पुस्तक पर्याप्त छैनन्। यस्तै खाँचो पुरा गर्न ‘अबको श्रम आन्दोलन र श्रम कानुन’ (लेबर मुभमेन्ट अहेड रिभिजिटिङ कन्टेम्पोररी लेवोर ल) नामक पुस्तक गत महिनादेखि बजारमा आएको छ।

श्रम आन्दोनललाई नजिकबाट नियाल्दै आउनुभएका र यस्तै विषयमा लामो समयदेखि कलम चलाउनुभएका प्रेमलकुमार खनालले पुस्तक तयार गर्नुभएको हो। पुस्तकमा नेपालमा ट्रेड युनियन आन्दोलनअघिको पृष्ठभूमि यसको विकास क्रम, लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गको भूमिका, ट्रेड युनियन सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, श्रम ऐनमा भएका व्यवस्थाबारेमा विवेचना गरिएको छ।

यस्तै अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनको रूपरेखा रट्रेड युनियनले आर्थिक–सामाजिक क्षेत्रमा निर्वाह गर्नुपर्ने भूमिका, ट्रेड युनियन आन्दोलनमा बढ्दै गएको विकृति, विसंगति र ट्रेड युनियन आन्दोलनलाई मर्यादित र व्यवस्थित गर्ने विषयसमेत समेटिएको छ।

यससँगै विश्व मजदुर आन्दोलनका अग्रज व्यक्तित्व कार्लमाक्र्स, नेपालको मजदुर आन्दोलनका अग्रज नेता मनमोहन अधिकारी र ट्रेड युनियन आन्दोलनलाई वैचारिक दिशा प्रदान गर्ने मदन भण्डारीको व्यक्तित्व र योगदानका बारेमा चर्चा गरिएको छ। पुस्तकमा आठ अध्यायअन्तर्गत ४८ वटा लेख समावेश छन्।

त्रिभुवन विश्वविद्यालयको कानुन संकायअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहमा अध्यापन हुँदै आएको ‘श्रम कानुन विषय’ को सहयोगी सामग्री यो पुस्तक बन्नेमा दुविधा छैन। त्यस्तै त्रिविअन्तर्गत स्नातकोत्तर तहमा भर्खरै अध्यापन शुरू भएको ‘श्रम अध्ययन’ विषयका लागि ‘अबको श्रम आन्दोलन र श्रम कानुन’ ले धेर–थोर होस्टेमा हैंसे गर्ने नै छ।

लोकसेवालगायत अन्य क्षेत्रका परीक्षामा श्रमसम्बन्धी विषयको समेत पाठ्य सामग्री समावेश गरिएको सन्दर्भमा प्रस्तुत पुस्तक सान्दर्भिक हुनेछ। साथै ट्रेड युनियन आन्दोलनमा चासो राख्ने, ट्रेड युनियनकर्मी, व्यवस्थापक र प्रशासकका लागि पनि विश्व ट्रेड युनियन महासंघ (डब्ल्यूएफटीयू) का प्रेसिडेन्सियल काउन्सिल सदस्य एवं सो संस्थाका नेपाल प्रतिनिधिसमेत रहनुभएका खनालको पुस्तक उत्तिकै पठनीय सामग्री बन्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्