राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम : नेकपा १६, राजपा २, कांग्रेस निल



सुनील महर्जन, काठमाडौं।

राष्ट्रिय सभाका १८ जना सदस्यका लागि बिहीबार भएको निर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १६ जना र राष्ट्रिय जनता पार्टी (राजपा) का २ जना निर्वाचित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निल भएको छ।

नेकपा, कांग्रेस, समाजवादी पार्टी नेपाल, राजपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा नेपालका गरी ४५ जनाले उम्मेदवारी दिएकोमा नेकपा र राजपाले मात्र परिणाम आफ्नो पोल्टामा पार्न सफल भएका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा महिलाबाट नेकपाका इन्दु गौतम, दलितबाट नेकपाकै गोपीबहादुर सार्की ‘अछामी’ र अन्य समूहमा नेकपाका देवेन्द्र दाहाल निर्वाचित हुनुभएको छ।

यस प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २ सय ७४ गरी ३ सय ६७ जनाले मतदान गरेका थिए भने प्रदेशसभाका १ जना र स्थानीय तहका दुई जनाले मतदान गरेनन्। आयोगका अनुसार प्रदेश सभातर्फ ९८ दशमलब ९२ र स्थानीय तहमा ९९ दशमलब २७ प्रतिशत मत खसेको थियो।

प्रदेश–२ मा महिलामा नेकपाकै तुलसा दाहाल निर्वाचित हुनुभएको छ। उहाँले ५ हजार २ सय ८ र उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नगिना यादवले ४ हजार ७ सय ४० मत ल्याउनुभएको थियो।

दलितबाट निर्वाचित राधेश्याम पासवानले ५ हजार २ सय ९२ मतभार प्राप्त गर्नुभएकोमा उहाँका प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामप्रित पासवानले ४ हजार ७ सय ४ मतभार ल्याउनुभयो।

प्रदेश–२ मा प्रदेशसभा सदस्यतर्फ १ सय ७ र स्थानीय तह सदस्यतर्फ २ सय ७२ गरी ३ सय ७९ जना मतदाता रहेका छन्। प्रदेश–२ मा शतप्रतिशत मतदाताले मतदान गरेका छन्।वागमती प्रदेशमा महिलातर्फ नेकपाका गंगाकुमारी बेल्बासे र अन्य समूहमा नेकपाका वेदुराम भुसाल निर्वाचित हुनुभएको छ।

वागमती प्रदेशमा प्रदेशसभा सदस्यतर्फ १ सय १० र स्थानीय तह सदस्यतर्फ २ सय ३८ गरी ३ सय ४८ जना मतदाता रहेका थिए। यस प्रदेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका गरी दुई जनाले मतदान गरेनन्।

आयोगका अनुसार उक्त प्रदेशमा प्रदेशसभा सदस्यबाट ९८ दशमलब १८ र स्थानीय तहबाट ९९ दशमलब १६ प्रतिशत मतदान भएको थियो।गण्डकी प्रदेशमा महिलातर्फ नेकपा भगवती न्यौपाने ३ हजार ३ सय ६६ मत ल्याई निर्वाचित हुनुभयो भने कांग्रेसका विमला गौचनले २ हजार ३ सय ४० मत पाउनुभयो।

सोही प्रदेशमा अन्य समूहमा नेकपाका नारायणकाजी श्रेष्ठ निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत पाउनुभयो।

उक्त प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तह सदस्यतर्फ १ सय ७० गरी २ सय ३० जनाले मतदाता गरेका थिए भने स्थानीय तहबाट दुई जनाले मतदानमा भाग लिएनन्। यसै गरी प्रदेश–५ मा महिलातर्फ नेकपाका विमला घिमिरे, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ नेकपाका जगप्रसाद शर्मा र अन्य समूहको तर्फबाट नेकपाका गोपाल भट्टराई निर्वाचित हुनुभयो।

यसै प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तह सदस्यतर्फ २ सय १८ गरी ३ सय ५ जनाले मतदाता गरेका थिए भने उक्त सो प्रदेशमा प्रदेशसभा सदस्य र स्थानीय तहबाट एक–एक जना गरी दुई जनाले मतदान गरेनन्।

कर्णालीबाट महिलातर्फ नेकपाका सुमित्रा बीसी र अन्य समूहको तर्फबाट नेकपाका मायाप्रसाद शर्मा निर्वाचित हुनुभयो। कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तह सदस्यतर्फ १ सय ५८ गरी १ सय ९८ जनाले मतदान गरेका थिए भने स्थानीय तहका ३ जनाले मतदान गरेनन्।

सुदूरपश्चिम प्रदेशबाट महिलामा नेकपाका शारदादेवी भट्ट र अन्य समूहमा नेकपाका तारामान स्वाँर निर्वाचित हुनुभयो। उक्त प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १ सय ७६ गरी २ सय २९ जना मतदाता रहेका थिए।

सो प्रदेशमा प्रदेश र स्थानीय तहका एक–एक जनाले भोट नहालेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। ५९ सदस्य रहने राष्ट्रियसभाका १९ जनाको पदावधि यही फागुन २० गतेदेखि समाप्त हुनेछ।

पदावधि समाप्त हुनेमा १ जना मनोनित सदस्य पनि रहेकोमा अब सोही प्रक्रियाबाट पूर्ति गरिनेछ। सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५ सय ५० र स्थानीय तह सदस्यतर्फ१ हजार ५ सय ६ गरी कूल २ सय ५६ जनाले मतदान गरेका थिए।

प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुखको मतभार १८ रहेको छ।सातवटै प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा मतदान स्थल तोकिएको थियो।

प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवन, बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवन जावलाखेल, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की, प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल राखिएको थियो।

बिहान १० बजेदेखि ४ बजेसम्म मतदान अवधि तोकिएकोमा दिउँसो २ बजेसम्ममा करिब ९९ प्रतिशत मत खसिसकेको थियो। मतदानको अवधि सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्