कांग्रेसका जनप्रतिनिधीको गुनासो ‘हामीले जितेका वडामा प्रदेशका योजना नै जाँदैनन्’



सरोज यादव, विराटनगर ।
नेपाली कांग्रेसबाट निर्वा्चित स्थानीय तहका जनप्रतिनिधिहरूले आफूले जितेको पालिका र वडाहरूमा प्रदेश सरकारको योजना पुग्नै नसकेको गुनासो गरेका छन् । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले बुधबार विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले त्यस्तो गुनासो गरेका हुन् । राष्ट्रिय सभाको निर्वाचनमा विराटनगरमा जम्मा भएका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई राखेर कांग्रेस संसदीय दलले छलफल गरेको हो । सो छलफलमा बोल्ने अधिकांश जनप्रतिनिधिहरूले आफूले जितेको वडाहरूमा योजना नै नपुग्ने गरेको बताए ।

विशेषगरी प्रदेश सरकारबाट जाने बजेट र योजनाहरू कांग्रेसका जनप्रतिनिधिहरू रहेका पालिकाहरूमा नपुग्ने गरेको उनीहरूले आरोप लगाए । नेकपा नेतृत्वको संघीय र प्रदेश सरकारले कांग्रेसले नेतृत्व गरेका तहमा प्रमुख प्रशासकीय अधिकृतहरू ६–६ महिनामा फेरिदिने गरेको बताए । उनीहरूले पार्टीको प्रदेशस्तरीय संयन्त्रको अभावमा आफूहरूलाई परेको पिरमर्का सुनाउने ठाउँ नपाएको भन्दै नेतृत्वसँग पनि गुनासो पोखे ।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले कांग्रेस नेतृत्वका स्थानीय सरकारलाई प्रदेश र संघीय सरकारबाट हुने गरेका व्यवहारप्रति साझा धारणा बनाएर प्रदेशसभामा आवाज उठाउनका लागि सुझाव संकलनको काम थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘नेकपाले हेपेको, पेलेको कुरा राख्नु होला, हामीलाई पनि सुझाव दिन नछाड्नु होला ।’

कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा मिनेन्द्र रिजाल, केन्द्रीय अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्वे, केन्द्रीय सदस्य अमृत अर्याल लगायतको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेश १ को प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू, स्थानीय तहका जनप्रतिनिधीहरूको उपस्थिति थियो । यसैबीच नेपाली कांग्रेस मोरङले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । प्रदेशभरीका जनप्रतिनिधिहरू विराटनगर आइपुगेको अवसरमा पार्टी कार्यालयमा बोलाएर उनीहरूलाई सम्मानित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्