बलात्कारका अभियुक्त ‘सिद्धबाबा’लाई पुर्पक्षका लागि थुनामा राख्न आदेश



सरोज यादव, विराटनगर ।
‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले सुनसरी अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बताउनुभयो “अभियुक्त गिरीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको छ“, उहाँले भन्नुभयो ।

गिरी आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुट्नु भएको थियो । जिल्ला अदालत सुनसरीले गिरीलाई धरौटीमा छोड्न दिएको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो। जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरिएको थियो।

सोही अनुसार विहीबार उच्च अदालतमा गिरीको पेशी थियो । बलात्कार आरोपमा अदालतमा मुद्या खेपिरहेका सिद्धबाबा भनिने कृष्णदास गिरी भने प्रहरीलाई नै झुक्काएर फरार हुनुभएको छ । उच्च अदालत विराटनगरमा आफू विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका बेला बलात्कार आरोपी गिरी बिहीबार दिउँसो भारततिर लाग्नुभएको छ । सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई भने नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ हिँड्नु भएको जनाइएको छ ।

उहाँको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो । स्रोतकाअनुसार कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी नगराइँदा सुरक्षामा खटिएका हवल्दार साह अन्योलमा पर्नुभएकाे छ । केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँड्नु भएको तर अदालत नपुगी भारत जानुभएको छ ।

हामी एकक्षण पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गार्डलाई सीमामा ओरालेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार गिरी किन उता लाग्नुभयो भन्ने बारेमा यकिन भइसकेको छैन । स्वास्थ्य उपचारका लागि भन्दै उहाँ दिल्ली गएको हुनसक्ने जनाइएको छ ।

सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किनुभएको थियो । त्यसकै ’फलोअप’कालागि फेरि गएको उनी निकटस्तहरु बताउछन् । मुख्य न्यायाधीश शतिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाई बिहीबार जारी रहेका बेला उनी भारत जानुलाई शंकाको दृष्टिकोणबाट हेरिएको छ ।

आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उहाँ भारततिर लागेको हुनसक्ने जनाइएको छ । कतिपयले बाबाको विपक्षमा फैसला आउन सक्ने कानुन ब्यवसायीको तर्कपछि उहाँ भारत जानुभएको बताईएको छ । बलात्कारका अभियुक्त सिद्धबाबाले पनि पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराउनुभएको थियो । एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले एकै पटक सुनुवाईका लागि  राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्