परीक्षाको प्रश्नपत्र आउट गर्ने व्यवस्थापन समितिका अध्यक्षसहित ३ जना पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पिपलचौतरा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

शाहीले राहत दरबन्दी निमावि तह सामाजिक विषय शिक्षकको छनोट परीक्षा संचालन हुनुअघि नै परीक्षार्थीलाई अनलाईनमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाइ शिक्षक छनोट गरेको आरोपमा अख्तियारले पक्राउ गरेको हो ।

अनुसन्धान हुँदा उक्त परीक्षामा सहभागी भइ छनोट भएका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर बिकलाई अनलाईनबाट प्रश्नपत्र र उत्तर कुन्जिका पठाइ अख्तियार दुरुपयोग गरेको खुल्न आएको हुँदा तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्