नेपाल प्रज्ञा-प्रतिष्ठान र हिब्रु राइटर्स एसोसियशन इजरायलबीच द्विपक्षीय सम्झौता



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एसोसियशन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । इजरायलको हिब्रु राइटर्स एसोसिएसनको निमन्त्रणामा इजरायल पुग्नु भएका नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र एशोसिशयनका तर्फबाट उपाध्यक्ष अलमौनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एशोसियनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख तथा विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो ।
इजरायलका लागि नेपाली राजदूत शाक्यले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा भएको यस्तो कार्यक्रमले इजरायल र नेपालबीचको सम्वन्धलाई अझ बलियो बनाउनुका साथै दुई देशबीचको सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान आदनप्रधानमा सहयोग पुग्ने बताउनुभयो ।

त्यसैगरी सम्झौतापत्रमा हस्ताक्षर गरेपछि उपकुलपति उप्रेतीले पनि यस्ता सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुपादको आदनप्रदानमा सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । यस अघि पनि राजदूत शाक्यले भ्रमण वर्षको प्रवद्र्धनका साथै नेपाल चिनाउने विषयमा विभिन्न कार्यक्रम गर्दै आउनु भएको छ ।

भ्रमण टोलीमै रहनु भएका नेपाल प्रज्ञा–प्रतिष्ठानका बाल साहित्य तथा लोकवार्ता विभाग प्रमुख डा। देवी नेपालले नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि इजरायलमा भएका प्रयासहरू प्रशंसनीय रहेको बताउनुभयो । उप्रेतीको नेतृत्वमा त्रिवि अंग्रेजी केन्द्रीय बिभागका प्रमुख डा। अम्मराज जोशी पनि हुनुहुन्छ । उहाँहरु एक हप्तासम्म इजरायलमा विभिन्न कार्यक्रममा सहभागी हुनहुने छ ।

प्रतिक्रिया दिनुहोस्