मोरङमा स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, ५ विद्यार्थी घाइते



न्युुज अफ नेपाल, विराटनगर ।

मोरङमा लर्डबुद्ध हाइयर सेकेण्डरी स्कुलको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रंगेलीबाट विद्यार्थी बोकेर विराटनगरतर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा विराटनगर–१५ का ३२ वर्षका सानुकुमार साहको मृत्यु भएको हो । दुर्घटनामा परी बसमा सवार पाँच विद्यार्थी घाइते भएका छन् ।

बिहीबार बिहान रंगेलीबाट विद्यार्थी लिएर आउँदै गरेको बस धनपालथान गाउँपालिका–६ मा दुर्घटना भएको थियो । विराटनगर–१७ का ३४ वर्षीय खिलबहादुर खड्काले चलाएको १२ जना विद्यार्थी सवार मे १ ख १४९० नम्बरको बसमा बिहान दुर्घटना भएको हो ।

बाक्लो हुस्सु लागेका कारण विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई साइड दिने क्रममा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घाइते भएका धनपालथान–७ कि २० वर्षीया रञ्जिता मण्डल, धनपालथान–४ कि २० वर्षीय सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका–४ कि १९ वर्षीय लुना गौतमको उपचार भइरहेको छ ।

नियन्त्रणमा रहेका बस चालकमथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्