क्यानडामा ५० लाख मानिस भोकमरीको चपेटामा



एजेन्सी, क्यानडामा करिब ५० लाखभन्दा धेरै मानिस भोकमरीको चपेटामा परेका छन् । सोमबार सार्वजनिक भएको एक अध्ययन रिपोर्टले विकसित देशमा पनि खाद्य असुरक्षा एउटा गम्भीर समस्या भएको देखाएको छ । नियमित खाना खान नपाउने मानिसको छिटै मृत्यु हुने सम्भावना रहेको पनि रिपोर्टमा उल्लेख छ ।

आधा मिलियन वयस्क क्यानेडेलीको अध्ययनबाट क्यान्सरबाहेक मृत्युको सबै कारणहरु भोकमरीसँग जोडिएको पत्ता लगाएको हो । प्रशस्त खान पाउने व्यक्तिले भन्दा खाद्यान्नको अभावमा परेका व्यक्तिहरुमा संक्रामक रोग, घाउचोटपटक र आत्महत्याको दर दोब्बर हुने क्यानडा मेडिकल एसोसिएशनको जर्नलमा उल्लेख छ ।

टोरन्टो विश्वविद्यालयमा पोस्टडक्टरल फेलो प्रमुख लेखक फेइ मेनले भनेका छन् ‘अवस्था यस्तो छ कि हामीले पहिलो विश्वका देशमा तेस्रो विश्वमा हुने कारणहरु भेट्टायौं ।’

‘क्यानडामा खाद्यान्नको अभाव भएका मानिसहरुले संक्रमण तथा औषधोपचारका समस्याहरु सामना गरिरहेका छन्, जुन हामी तेस्रो विश्वका देशमा मात्रै देखिने समस्या भएको मान्छौं, हामी दुखपूर्ण आश्चर्यमा परेका छौं, क्यानडाजस्तो देशमा खाद्य असुरक्षाले अझै मृत्यु निम्त्याउन सक्छ’ मेनले भनेका छन् ।

अध्ययन रिपोर्टमा लेखिएको छ ‘४ मिलियनभन्दा बढी मानिसहरु प्रयाप्त खानाका लागि संघर्ष गरिरहेका छन् । पर्याप्त खानेकुराको अभावले ‘भौतिक बञ्चितता र मनोवैज्ञानिक दुख’ निम्त्याउँछ । यसले दीर्घकालीन रोग र कुपोषण गराउँछ, जसका कारण धेरै क्यानेडेली अकालमै ज्यान गुमाउँछन् ।’

सन् २०१९ मा गरिएको अध्ययनले अमेरिकामा मानिसको मृत्युको धेरै कारण खाद्यान्न अभावसँग जोडिएको देखाएको थियो । भोकमरीको सामना गरिरहेको कुल जनसंख्यामध्ये ८ प्रतिशत मानिसहरु उत्तर अमेरिका र युरोपमा रहेका छन् ।

संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार विश्वभर २ अर्ब मानिसहरु खाद्यान्न अभावको चपेटामा परेका छन् र स्वास्थ्य समस्याको उच्च जोखिममा छन् । अध्ययनमा समावेश गरिएका आधा मिलियन वयस्कमध्ये क्यानडामा २५ हजार मानिसहरु अल्पकालमै मर्ने गरेको अध्ययन रिपोर्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्