प्रहरी कार्यालय लमजुङको नयाँ भवन शिलान्यास



शिक्षा पन्त, लमजुङ।

जिल्ला प्रहरी कार्यालय लमजुङको नयाँ बन्ने भवनको मंगलबार गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले शिलान्यास गर्नुभएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै उहाँले देशमा तीन तहको सरकार गठन भएसँगै देश संघीय संरचनामा गएकाले जनप्रतिनिधि पनि राष्ट्रसेवक भएको बताउनुभयो।

एक राष्ट्रसेवकले अर्को राष्ट्रसेवकलाई भवन निर्माणदेखि अन्य संरचना निर्माणमा सहयोग गर्न अनुरोधसमेत गर्नुभएको छ। उहाँले प्रहरीलाई अपराध, अनुसन्धानको काममा कटिबद्ध भएर लाग्न निर्देशन पनि दिनुभएको छ।

समाजमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरीले रातदिन नभनी खट्न निर्देशन पनि दिनुभयो। उहाँले प्रहरी पनि अब प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ।

नेपाल प्रहरीको नियमित बजेटअन्तर्गत प्रहरीको नयाँ भवन बन्न लागेको डीएसपी रवीन्द्रमान गुरुङले बताउनुभयो। उक्त भवन ४ करोड २३ लाखमा बन्न लागेको हो।

भवन निर्माणको जिम्मा ब्राइट मल्टी कन्सट्रक्सन प्रालि पोखरीचौरी ९ काभ्रेले लिएको छ। एक वर्षभित्र नयाँ भवन निर्माण गरिसक्ने गरी गत मंसिर ११ मा सम्झौता भएको डीएसपी गुरुङले बताउनुभयो।

उक्त नयाँ भवनमा हिरासत कक्षा, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, प्रहरी हवाल्दार र प्रहरी जवान ब्यारेक, थुनुवा कक्षा, मेस भवनलगायतका संरचना निर्माण हुनेछ।

भूकम्पले पुरानो भवन चर्किएपछि दैनिक काम–काजमा समस्या पर्ने गरेको डीएसपी गुरुङले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्