कर्णाली उज्यालो कार्यक्रम आरम्भ



सुर्खेत, (नेस)।

कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन शुरु भएको छ। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन लागि समझदारीपत्रमा हस्ताक्षर भएसंगै कार्यान्वयन प्रक्रिया शुरु भएको हो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको हस्ताक्षर कार्यक्रममा कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी वस्नेत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूधन अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ।

उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यान्वयन इकाइ स्थापना गर्ने र प्राविधिक सहयोग वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले उपलब्ध गराउने केन्द्रका कार्यक्रम संयोजक दीपक पौड्यालले जानकारी दिनुभयो।

कार्यक्रम कार्यान्वयनको पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पुरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लामा रहेका लघु तथा साना जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरिनेछ।

ती आयोजना सम्पन्न गर्न प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रमबाट बजेट व्यवस्था गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वस्नेतले बताउनुभयो।

हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीका ग्रामीण क्षेत्रमा राष्ट्रिय विद्युत् प्रशारण लाइन विस्तार गर्न केही समय लाग्ने भएकाले लघु तथा साना जलविद्युत् आयोजनाको निर्माण आवश्यक रहेको बताउनुभयो।

मुख्यमन्त्री शाहीले यसअघि राज्यको करोडौं बजेट लगानी भएका तथा केही आर्थिक तथा प्राविधिक सहयोगको अभावमा निर्माण हुन नसकेका आयोजनामा लगानी गर्दा राज्यले गरेको लगानी खेर नजाने र जनताले पनि छिटो उज्यालो पाउने भएकाले प्रदेश सरकार त्यस्ता आयोजनामा लगानी गर्न तयार भएको बताउनुभयो।

कर्णाली उज्यालो कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले कार्यक्रम कार्यान्वयनमा ढिलासुस्ती र लापरबाही नगर्न निर्देशन गर्नुभयो।

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि ५० करोड ९ लाख बजेट विनियोजन भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखाअधिकृत विनोद प्रधानले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्