इलाममा गाई जोन कार्यक्रम शुरू



गणेश घिमिरे, इलाम।

कृषकलाई पशुपालन व्यवसायतर्फ अग्रसर बनाउने र यसलाई व्यवसायीकरण बनाउने उद्देश्यले इलाममा गाई जोन कार्यक्रम शुरु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाका दुई पालिकामा गाई जोन कार्यक्रम शुरु भएको हो।

इलाम नगरपालिकाको १, २, ३ र ४ वडा तथा सन्दकपुर गाउँपालिकालाई कार्यक्षेत्र बनाएर किवी जोन कार्यक्रम सञ्चालन भइरहेको छ। किवी जोनसंगै जिल्लामा अब गाई जोन कार्यक्रम पनि शुरु भएको हो।

यो परियोजनाअन्तर्गत जिल्लामा गत वर्षबाट इलाम नगरपालिकाको १, २, ३ र ४ वडा तथा सन्दकपुर गाउँपालिकालाई कार्यक्षेत्र बनाएर किवी जोन कार्यक्रम सञ्चालन भइरहेको छ। किवी जोनसंगै जिल्लामा अब गाई जोन कार्यक्रम पनि शुरु भएको हो।

जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा गाई जोन कार्यक्रम शुरु भएको परियोजना इकाइका निमित्त प्रमुख एवं कृषि अधिकृत लटनारायण शाहले बताउनुभयो। गाई जोन कार्यक्रमका लागि संघीय सरकारबाट चालु आर्थिक वर्षमा १ करोड २२ लाख रुपियाँ बजेट प्राप्त भइसकेको छ।

प्राप्त बजेटबाट कार्यालय व्यवस्थापन, कर्मचारीको तलब भत्तासहित अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछ। किवी र गाई जोन परियोजनाको मुख्य कार्यलय इलाममा रहे पनि गाई जोनको सम्पर्क कार्यालय सूर्योदय नगरपालिकाको फिक्कलमा राखिएको छ।

गाई जोन कार्यक्रम सञ्चालन गर्न सञ्चालक समिति गठनको तयारी थालिएको छ। सञ्चालक समितिले बजेटको बाँडफाँडदेखि जोनमा आबद्ध हुन कृषकलाई सूचिकृत गर्न आह्वान गर्नेछ। सञ्चालक समिति ९ सदस्यीय हुनेछ।

गाई जोनमा यस वर्ष प्राप्त बजेटबाट कृषकलाई अनुदानबाहेक अन्य कार्यक्रमहरू सञ्चालन हुनेछ। अनुदानका कार्यक्रम सञ्चालक समितिले नै गर्ने प्रमुख शाहले बताउनुभयो।

यो वर्ष प्राप्त बजेटबाट चारवटा ठूला अनुदानका कार्यक्रमहरू रहेको बताइएको छ। पशुपालनका लागि जिल्लाका सूर्योदय र रोङ गाउँपालिका विशेष रहेको तथा व्यवसायिक पशुपालनतर्फ त्यस क्षेत्रका कृषकको बढ्दो आकर्षण तथा गाई जोनका लागि माग भएपछि उक्त पालिकामा गाई जोन कार्यक्रम शुरु भएको बताइएको छ।

जोन कार्यक्रमले कृषकलाई पशुपालनतर्फ अग्रसर बनाउँदै, पशुपालनमा आधुनिकीकरणतर्फ डोर्याउन मद्दत पुग्नेछ।

 

प्रतिक्रिया दिनुहोस्